विमान दुर्घटनामा नयाँ खुलासा, उडान भर्नु अघि पाइलटले दिएका थिए राजीनामा

314
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : बंगलादेशबाट नेपाल उडान भर्नु अघि विमानका पाइलटले राजीनामा दिएको बंगलादेशी मिडियाले दाबी गरेको छ।

सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त बनेको युएस बंगला विमानका पाइलट अविद सुल्तानले नेपालमा उडान भर्नअघि राजीनामा दिएको समाचार बंगादेशको एक अनलाइन मिडियाले प्रकाशित गरेको छ ।

बंगलादेशको प्रोथोमालो डटकमको अंग्रेजी संस्करणमा छापिएको उक्त समाचारमा सुल्तानका साथीहरुलाई उद्द्धृत गर्दै समाचार प्रकाशित गरिएको हो ।

‘नेपालमा उडान भर्न अघि इमेलबाट सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ साथीहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

उनको साथीका अनुसार विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन। पाइलट अबिद सुल्तान र को पाइलट प्रिथुला रसिद दुर्घटनामा मारिएका ५१ जनामध्येका रहेका छन् ।

यता, युएस बंगलाका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कामरुल इस्लामले भने पाइलटले राजीनामा पत्र पठाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘ यद्यपि, पाइलटले प्लेन उडाउँदिन भने भन्न पाउँछ,’ कामरुलले भने ।

सुल्तानका साथीहरुका अनुसार युएस बंगला एयरलाइन्सका एक उच्च अधिकारीले दुई महिनाअघि कम्पनी छाडेर इथोपिएयन एयरलाइनसमा काम शुरु गरेका थिए । सुल्तानसँग नजिक रहेका उनले अबिदलाई त्यही एयरलाइन्समा जागिर मिलाएका थिए ।

सुल्तानका साथी रहेका अन्य पाइलटहरु राजीनामा दिइसकेको अवस्थामा पनि विमान उडान भर्न लगाउन नैतिकताविपरित भएको बताउँछन् ।

दुर्घटनाको कारणको बारेमा भने उनीहरुले यसबारे विस्तृत अनुसन्धान गरिनुपर्ने बताए ।

सुल्तानले सन् २०१५ को मे ६ मा पाइलटको रुपमा युएस बंगला कम्पनीमा आबद्ध भएका थिए ।
उनी ड्यास–एट क्यु४०० विमानका मुख्य पाइलट थिए । उनी विमानको प्रशिक्षक पनि थिए ।

उनले सन् १९८४ देखि बंगलादेशको बायुसेनामा पनि काम गरेर रिटायर भएका थिए ।


  •  
  •  
  •