घर बनाउने ५० हजार घरखर्च चाडपर्वमा सकियो

139
  •  
  •  
  •  

काठमाडौँ, १९ पुस ।
काभ्रे गैरीगाउँकी ४३ वर्षीया मुना शिवभक्ति जस्ताको टहरो नजिकै थुपारिएको झिक्रा संगाल्दै थिइन् । आकाशबाट पानी छिट्याउन थाल्यो । झिक्रा मुठा पारिन् । छाप्रोभित्र हुलिन् र अँगेनाछेउ राखेर आगो सल्काउन थालिन् । उनी भन्दै थिइन्, ‘पानी पर्न थाल्यो । मुटु छुने जाडो छ । ओढ्ने–ओछ्याउने छैन । आगो नबाली रात कटाउन सकिन्न । यही झिक्राको भर छ । अब त यो पनि रित्तिन लाग्यो ।’

दुई वर्षको जाडो र बर्खा उनले यसैगरी कटाइन् । भूकम्पमा ढलेको घर उस्तै छ । घर बनाऊ भनी सरकारले वितरण गरेको ५० हजार रुपैयाँ उनले दसंैअघि नै पाइन् । तर, घर बनाउन अझै सकेकी छैनन् । ‘घर बनाउन ५० हजार रुपैयाँ त पाइयो । तर, नपुग्ने देखियो । गाउँमा ज्यामी पाइन्न । पाइए पनि एक दिनको ज्याला एक हजार रुपैयाँभन्दा धेरै भन्छन् । ५० हजारले त जग खार्न पनि पुग्दैन । कसरी बनाउने घर ?’ उनी भन्छिन् ।

गैरीगाउँकै ६० वर्षीय माधव खत्री जस्ताको टहरोछेउबाट फुत्त बाहिर निस्किए । पानीमा रुझ्दै आँगनमा पुगे । दाउरा अँगालोभरि उठाएर टहरोभित्र छिरे । ‘थामी नसक्नु जाडो छ । आगो नबाली रात कटाउनै मुस्किल छ । झन् पानी पर्‍यो । अब त जाडो झन् बढ्ने भयो,’ उनले भने । भूकम्पमा ढलेको उनको घर अझै ठडिन सकेको छैन । घर बनाउन सरकारले दिएको ५० हजार पनि पाएका छैनन् । राहत रकम पाउन उनले धेरैपटक स्थानीय प्रशासन धाए, तर केही सीप लागेन । प्रशासनले जग्गाधनी पुर्जा माग्यो । त्यो बुझाए । नागरिकता माग्यो । त्यो पनि बुझाए । तर, अनुदानबापतको रकम पाउन सकेनन् । अनुदान रकम लिन स्थानीय प्रशासन धाउँदा धाउँदै थकित बनेका उनले भने, ‘अनुदान रकम पाउन धेरैपटक प्रशासन पुगेँ । मागेको कागजपत्र बुझाएँ । तर, रकम पाउने सूचीमा नाम नै परेन । कहिले कम्प्युटरमा नाम मिलेन भन्छ, कहिले धनीपुर्जा भएन भन्छ । दिक्क भइसकेँ ।’
नयाँ पत्रिकाबाट


  •  
  •  
  •