पोखरा, १६ फागुन(ओएनएस) : नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री र रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाका आन्दोलनका कार्यक्रममा मधेसका जनताले नै साथ नदिने दावी गरेका छन् ।
एमाले कास्कीले आइतबार बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा रक्षामन्त्री रावलले कुनै पनि नाकाबन्दी र आन्दोलनलाई मधेसको साथ नहुने दावी गरेका हुन् । उनले नयाँ संविधानले कसैप्रति विभेद नगरेको भन्दै मोर्चाले गर्ने आन्दोलनको विरोध मधेसी जनताबाटै सुरू हुने बताए ।
आन्दोलनका नाममा नेपाली जनताको जनजीवन नै अस्तव्यस्त पार्ने र देशमा असहज अवस्था सिर्जना गर्ने कसैलाई पनि नछाडिने भन्दै आन्दोलन र हड्ताल गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् । उनले सीमा नाकापारीबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्नेलाई देशदोह्रीको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि गर्ने चीन भ्रमणका क्रममा नेपालका उत्तरतिरका सबै नाका खोलिने, एक तिहाई इन्धनको आपूर्ति र पारवहन सुविधाका बारेमा समेत सम्झौता हुने जानकारी गराउँदै उनले त्यस भ्रमणमा दुई देशबीचका अन्य आर्थिक एजेण्डामा समझदारी हुने विश्वास व्यक्त गरे ।