अछाम, २९ फागुन(ओएनएस) : उप–प्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सुदूरपश्चिमबाट चीनसँग जोडिएका नाका खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा छलफल हुने बताएका छन् ।
शनिबार मंगलसेनमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले दार्चुलाबाट ताक्लाकोटसम्मको र बझाङको चैनपुर–ताक्लाकोट सडक सञ्चालनका लागि चीन भ्रमणका क्रममा छलफल गरिने बताएका हुन् ।
उनले अहिले सरकार परिवर्तनको समय नभएको भन्दै कांग्रेसले पनि वर्तमान सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।
उनले स्थानीय निकायको चुनाव तत्काल गर्न सबै दलहरुको सहमति आवश्यक रहेको बताए । मन्त्री रावलले स्थानीय निकायको चुनाव गर्न अहिले संविधानको कार्यान्वयन आवश्यक रहेकाले त्यसमा पनि कांग्रेस लगायतका दलहरु एक हुनुपर्नेमा जोड दिए ।