सडकमा होइन वार्तामा आऊः उपाध्यक्ष रावल

254
  •  
  •  
  •  

bhim rawalभक्तपुर, १२ माघ(ओएनएस) : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ३-४ जना शीर्ष नेताहरू मात्र मिलेर सहमतिमा सविधान बनाउने भए ६०१ जना सभाषद् नचाहिने बताएका छन् ।

रफत सञ्चार क्लमा भक्तपुरमा सोमबार आयोजित अन्तरसंवादमा रावलले एमाओवादी तर्फ लक्षित गर्दै भने, ‘सहमतिका नाममा दलहरुले लामो समय बिताई सक्दा पनि सहमतिको वातावरण देखा पर्न नसक्दा लोकतान्त्रिक अभ्यासमा होमिएका हौँ ।’

उनले लामो समयदेखी दलहरूले सहमति नगरेर देशलाई अनिर्णयको बन्दी लगेकाले सभामुखले प्रश्नावली निर्माण समिति बनाएको बताए । संविधानसभाका अध्यक्षले नियम बमोजिम नै प्रक्रिया अगाडि बढाएकाले अब छिट्टै समस्या समाधानको बाटो खुलेको उनको भनाइ छ ।

‘संविधान नेपाल र नेपालीको लागि पहिलो आवश्यकता भएकाले विपक्षी दलहरु साँचो अर्थमा इमान्दार भए छिटो भन्दा छिटो संविधान जारी गर्न सहमितिमा आउनुपर्छ ।’, उनले भने । विगतमा नेपालीजन माझ गरेका प्रतिबद्धता पुरा गर्न पनि मोर्चा संविधानसभामा आउनुको विकल्प नभएको रावलको टिप्पणी थियो ।

आइतबार साँझ बसेको ९ दलको बैठकले प्रधानमन्त्रीमार्फत वार्ता गर्ने निर्णय भएको बताउँदै उनले विपक्षी दल आन्दोलनमा जानु मुलुकलाई कमजोर बनाउनु मात्र भएको जिकिर गरे ।

एमाओवादी र मधेशवादी दलहरू संविधान निर्माणको पक्षमा नरहेका कारण ८ माघमा संविधान जारी गर्न नदिएको दावी गर्दै उनले २०७० सालभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता भए तापनि प्रतिबद्धता सबै उल्टाउँदै गएको बताए ।

सभामुखले एमालेको कार्यकर्ता जस्तो काम गरेको भनाइप्रति खण्डन गदै पटक-पटक सहमतिको समय दिँदा पनि सहमति गर्न नसक्दा सभाध्यक्षले यस्तो कदम चालेको बताएका छन् ।

एमाओवादी र मधेशवादी दलका नेताहरुको गतिविधि संविधानसभाबाट संविधानजारी गर्ने नाटक मात्र भएको बताउनुभयो । दुईचार जना नेताले गरेको सहमति नै संविधान भए १८ अर्ब भन्दा बढी खर्च गरेर संविधानसभाको निर्वाचन गर्नुको औचित्य नभएको बताए । प्रस्ताव निर्माण समितिले मतभेदका विषय टुग्याउने मस्यौदा समितिमा जाने भएकाले छिटै संविधानजारी गरिने उनको भनाइ छ ।

वर्तमानमा संविधान नेपाल र नेपालीकै जिम्मेवारी भएकाले कसैको ईशारामा चल्नु भन्दापनि आफ्नै निर्णयलाई पहिलो पाटो बनाएर अगाडि बढ्नु पर्नेमा रावलले जोड दिए । उनले भने, ‘छिमेकीको सबै कुरा मान्नु भन्दापनि राम्रा विषयलाई आत्मसाथ गर्दै छिटो भन्दा छिटो संविधान दिएर राजनीतिक संक्रमणको अन्त्यतर्फ सबै अग्रसर बन्नु पर्छ ।’


  •  
  •  
  •