भिडन्तमा मृत्यु हुने राई विप्लव समूहका ओखलढुंगा इन्चार्ज

156
  •  
  •  
  •  

काठमाडौं । भोजपुरमा प्रहरीसँगको भिडन्तमा मृत्यु हुने निरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज रहेको खुलेको छ । प्रहरीले राईको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउण्ड गोली बरामद गरेको छ ।

प्रतिकात्मक तस्बिर

यस्तै सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि मृत्यु भएको छ । सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली प्रहार गरेको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले भने सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली हानेको र सँगै रहेका अर्का प्रहरीले जवाफी फायर गरेको जानकारी दिए ।

गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

यसैबीच भिडन्तमा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। थप प्रहरी परिचालन गरिएको जनाइएको छ ।


  •  
  •  
  •