उद्यमी–व्यवसायीको नेतृत्वमा पहिलोपटक महिला

264
  •  
  •  
  •  

काठमाडौँ, ३१ चैत ।

उद्यमी भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको १९औँ अध्यक्ष बनेकी छिन् । महासंघको संशोधित विधानअनुसार उनी वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेकी हुन् । राणाले बुधबार आफ्नो पदभार सम्हालेकी छिन् ।

महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रमबीच अध्यक्ष पशुपति मुरारकाले राणालाई महासंघको लोगो दिएर पद हस्तान्तरण गरे । नवनिर्वाचत अध्यक्ष राणाले निवर्तमान अध्यक्ष मुरारकाबाट पद तथा गोपनीयताको शपथ पनि लिइन् । महासंघ स्थापनाको ५१ वर्षमा राणा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् । उनी महिला उद्यमी महासंघमा पनि अध्यक्ष छिन् । मनोनीत सदस्य, निर्वाचित सदस्य, समिति सभापति, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी महासंघको नेतृत्वमा पुगेकी हुन् । पदभार गरेपछि उनले संक्षिप्त सम्बोधन गर्दै सहमतिका साथ सबैलाई एकबद्ध बनाएर आफ्नो तीनवर्षे यात्रा प्रारम्भ गर्न चाहेको बताइन् ।

महासंघ ५१औँ वार्षिक साधारणसभाबाट १८औँ कार्यकारिणी समितिका निर्वाचित वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूले बुधबार नै पदभार गरेका छन् । अध्यक्ष राणाले सबै पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइन् । उनले सबैलाई समूहमा मिलेर काम गर्न आग्रह पनि गरिन् ।

राणाका २० बुँदे कार्ययोजना
नवनिर्वाचित अध्यक्ष राणाले आफ्नो तीनवर्षे कार्यकालमा गर्ने कामको २० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छिन् । यस्तो छ उनको कार्ययोजना :
१. निवर्तमान अध्यक्ष पशुपति मुरारकाका कार्ययोजनालाई निरन्तरता
२. अन्तर्राष्ट्रिय दातासँगको साझेदारीमा दक्ष युवा जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा प्राविधिक शिक्षालय खोल्ने
३. महासंघमा विज्ञ समूह (थिंक ट्यांक) राख्ने
४. नेपाल–भारत व्यापारलाई सरलीकृत गर्न सीमावर्ती सहरमा दुईपक्षीय छलफल तथा लगानी सम्मेलन गर्ने
५ सरकारी–निजी साझेदारीलाई बढोत्तरी दिने
६. आर्थिक विकासका लागि संसद्को संकल्प लिनलाई प्रयास गर्ने
७. प्रादेशिक संरचनामा गइसकेपछि पनि जिल्ला-नगर उवासंघको सशक्तीकरणलाई जोड दिने
८. कच्चा पदार्थमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्न तथा उत्पादनलाई आधुनिकीकरण बनाउन प्रयत्न गर्ने
९. जलविद्युत्को विकास तथा प्रवद्र्धनमा सरकारसँग साझेदारी
१०. भूउपयोग नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाब तथा दबाब दिने
११. सात प्रदेशमा सातवटा स्मार्ट सिटीका लागि सरकारसँग साझेदारी गर्ने
१२. महासंघमा अनुसन्धान तथा विकास (आर एन्ड डी) केन्द्र स्थापना गर्ने
१३. करका समस्या समाधानमा जोड दिने
१४. पिपिपी मोडलमा मास ट्रान्सपोटेसन सञ्चालनका लागि सरकारसँग साझेदारी
१५. परियोजनामा आधारित कर्जा प्रवाहका लागि राष्ट्र बैंकसँग सहकार्य गर्ने
१६. पुँजीगत खर्च बढाउन दबाब दिने । निर्माणको वार्षिक क्यालेन्डर बनाउन सरकारलाई सघाउने
१७. दिगो पर्यटक विकासलाई जोड दिने
१८. महिला उद्यमशीलता विकासका विशेष कार्यक्रम चलाउने
१९. महासंघको अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार र बलियो बनाउने
२०. महासंघ सचिवालयलाई चुस्त र प्रभावकारी बनाउने

यी हुन् भवानी राणा

मनमोहन मिश्र तथा शोभा मिश्रकी कान्छी छोरीकी रूपमा ०२६ मा जन्मिएकी रणाले सेन्ट मेरिज स्कुल काठमाडौंबाट विद्यालय शिक्षा पूरा गरेकी थिइन् । त्यसपछि भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी राणाले फेसन डिजाइनिङ कोर्स पनि पूरा गरेकी छिन् । उनले सन् १९८५ तिर काठमाडौंमा गार्मेन्ट उद्योगमा समेत लगानी गरेकी थिइन् । तर, त्यसले सफलता हात पारेन । त्यसपछि उनले ०४६ देखि करिब पाँच वर्ष अमेरिकी दूतावासमा काम गरिन् । राणाको विवाह भने नेपालगन्जको राणा परिवारमा भएको हो । उनका पति असितशमशेर राणा स्नेहा होटेलका सञ्चालक हुन् । नेपालगन्जस्थित स्नेहा होटेल प्रालिकी सञ्चालिका राणा ०६४ चैतमा महासंघको कार्यकारिणी सदस्य भई महासंघमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी ०६७ चैतमा महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएकी थिइन् । उनले महासंघको कृषि उद्यम केन्द्रको सभापति भएरसमेत काम गरिन् । महासंघ प्रवेशको तेस्रो कार्यकालमा जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित राणा १८ असार ०७२ मा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन् । त्यसको २१ महिनापछि उनी स्वतः अध्यक्ष बनेकी हुन् । महिला उद्यमी महासंघकी अध्यक्षसमेत रहेकी राणा लगानी बोर्ड नेपालकी सदस्य पनि हुन् । उनको कृषि, पर्यटन र होटेल व्यवसायमा लगानी छ ।

भाग्यले होइन, कर्मले भवानी
महासंघ प्रवेश गरेको एक दशकमै भवानी राणा अध्यक्ष बन्न सफल भइन् । छोटो समयमै निजी क्षेत्रको छाता संगठनको अध्यक्ष बन्नुमा उनलाई भाग्यले साथ दिएको धेरैजसोको भनाइ छ । तर, राणा भने यसलाई अस्वीकार गर्छिन् । ‘म भाग्यले भन्दा पनि कर्मले नै अहिलेकी भवानी बनेकी हुँ,’ नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनिन्, ‘मैले धेरै मिहिनेत गरेँ र मलाई मेरो परिवार, उद्योगी व्यवसायी तथा महासंघका अग्रजले साथ दिए र यहाँसम्म आइपुगेँ ।’ आफू महासंघ इतिहासमै पहिलोपटक निर्वाचित महिला सदस्य तथा उपाध्यक्ष भएको बताउँदै उनले भाग्यले मात्रै कोही सफल हुन नसक्ने बताइन् ।

राष्ट्रपतिदेखि निजी क्षेत्रको सर्वोच्च पदमा महिला

राष्ट्रपति विद्यादेवी भण्डारी एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति नियुक्त भएकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा नेपालको प्रथम महिला राष्ट्रपति हुन् । एमालेका तत्कालीन नेता मदनकुमार भण्डारीकी धर्मपत्नी भण्डारी यसअघि रक्षामन्त्रीसमेत भइसकेकी छिन् । उनी राष्ट्रपति हुनुअघि एमालेको समानुपातिक सूचीबाट सांसदमा निर्वाचित भएकी थिइन् ।

सभामुख ओनसरी घर्ती
ओनसरी घर्ती २९ असोज २०७२ मा सभामुखमा निर्वाचित भएकी हुन् । उनी नेपालको पहिलो महिला सभामुख हुन् । माओवादी नेतृसमेत रहेकी उनको पक्षमा तत्कालीन विपक्षी दल कांग्रेसले पनि समर्थन गरेको थियो । रोल्पा जंकोट १ माडीचौरकी स्थायी बासिन्दा रहेकी उनी दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

प्रधानन्यायाधीश सुशीला कार्की
सुशीला कार्कीलाई गत वर्ष २४ चैतमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । उनले २७ असारमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेकी हुन् । उनी २ मंसिर ०६७ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी हुन् ।

महासंघ अध्यक्ष भवानी राणा
उद्यमी भवानी राणाले बुधबारदेखि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेकी छिन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेकी राणा महासंघको संशोधित विधानअनुसार स्वतः अध्यक्ष बनेकी हुन् । सरकारपछि सबैभन्दा बढी सञ्जाल भएको निजी क्षेत्रको एक मात्र संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदलाई शक्तिशाली मानिन्छ । नेपालगन्जस्थित स्नेहा होटेल प्रालिकी सञ्चालक राणा २०६४ चैतमा महासंघको कार्यकारिणी सदस्य भई महासंघमा प्रवेश गरेकी थिइन् । ०६७ चैतमा महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित राणा तेस्रो कार्यकालमा जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित भइन् । १८ असार ०७२ मा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित राणा त्यसको २१ महिनापछि स्वतः अध्यक्ष बनेकी हुन् ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •