भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट शुरु गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

47
  •  
  •  
  •  

मकवानपुर, २८ माघ(ओएनएस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट शुरु गर्नुपर्ने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको बताए ।

उनले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न आग्रह गरे ।

उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताए ।

सो अवसरमा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।


  •  
  •  
  •