सरुवाका लागि मन्त्री फकाउँदै भरत सुवेदी

241
  •  
  •  
  •  

lalbabu-and-bharat-subadi1काठमाडौं १ भदौ (ओएनएस)  : गत असार २३ गते तत्कालीन कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमको ठाडो प्रस्तावमा विवादस्पद सहसचिव भरत सुवेदीलाई अर्थ मन्त्रालय सरुवा गरियो । तर, व्यापाक विवाद भएपछि सरुवा कार्यान्वयन भएन, उनी सामान्य प्रशासन मन्त्रालयमै यथावत कायम रहे । हाल पनि सामान्यमै छन् । पछिल्ला दिनमा उनी सरुवाका लागि विभागीय मन्त्री लालबाबु पण्डितसँग सम्बन्ध सुधार गर्न एमाले निकट कर्मचारीहरुसँग हारगुहार गरिरहेका छन् ।

अर्थमन्त्री डा. रामशरण महत तथा गहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला उपचारको क्रममा अमेरिकामा गएको बेला सुवेदीलाई अर्थको सहसचिमा सरुवा गरेका थिए । विवादस्पद छवि भएका सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा गरेको भन्दै एमालेभित्रै चर्को विरोध भएपछि उनको सरुवा रोकिएको थियो । एमालेको नवौं महाधिवेशनमा कार्यकर्ताले सुवेदीलाई अर्थमा सरुवा गरेको भन्दै वामदेव विरुद्ध नारावाजी गरेपछि सुवेदीको सरुवा रोक्न वामदेव बाध्य भएका थिए ।

सरुवा भएको दुई महिना पुरा हुन लाग्दासमेत आफ्नो पोष्टिङ नभएको भन्दै सहसचिव सुवेदी अहिले एमाले निकट कर्मचारी संगठनका पदाधिकारीसँग सम्बन्ध विस्तार गरेका छन् । एमालेतर्फबाट मन्त्री भएका पण्डित सुवेदीको विरुद्धमा उत्रिएपछि सुवेदी एमाले निकट कर्मचारी संघका पदाधिकारीमार्फत सामान्य प्रशासन मन्त्रालयबाट आफ्नो सरुवा जसरी पनि गर्नुपर्ने भन्दै सम्बन्ध विस्तारमा रहेका स्रोतले बतायो । ‘अब मलाई अर्थमन्त्रालय पनि चाहिँदैन, राजश्व विभाग पनि चाहिँदैन’, सुवेदीको भनाई उद्धृत गर्दै एमाले निकट कर्मचारी संगठनका एक पदाधिकारीले भने, ‘जुन मन्त्रालय वा विभागमा सरुवा भए पनि हुन्छ । तर सामान्य प्रशासन मन्त्रालयबाट भने जाने व्यवस्था मिलाई दिनुपर्यो ।’

मन्त्री पण्डितले सुवेदीलाई अष्ट्रेलियाको पीआर लिएको भन्दै अर्थ मन्त्रालयमा सरुवा गर्न अस्वीकार गर्दै आएका थिए । पण्डितले सुवेदीलाई शिप विकास केन्द्र, खुमलटारमा काजमा सुरुवा गरे पनि उनले पत्र बुझ्न अस्वीकार गरेका थिए । जागिरे अवधिमा अधिकांश समय अर्थ मन्त्रालयभित्र आकर्र्षक कमाइ हुने ठाउँमा मात्र बसेका सुवेदी उपसचिवबाट सहसचिव बढुवा भएपछि पुनः अर्थमा जान चाहन्थे ।

आर्थिक मामिलामा बदनाम मानिने सुवेदी अख्तियारले अकुत सम्पत्ति कमाएको भन्दै पक्राउपुर्जी जारी गरेपछि फरार भएर जोगिएका थिए । २०५८ सालमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजश्वका २२ जना कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ पुर्जी जारी गरेका थिए । अरु २१ जना समातिए पनि सुवेदी अख्तियारको टोली पुग्नुभन्दा ५ मिनेट अघिनै सुराकी पाएर मध्यरातमा घरबाट फरार भएका थिए । उनीसँगैका अरु २१ जनामध्ये अधिकांशले जेल सजाय भोगिसके पनि उनी विशेष अदालतमा रहस्यमय ढंगले सफाइ पाउनेमा पर्छन् ।

सुवेदीको परिवार अष्ट्रेलियामै स्थायी बसोबस गर्छन् । उनी पनि बिदाको समयमा उतै जाने गर्छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नातेदार बताउने सुवेदीले कार्की नियुक्त हुने बित्तिकै उनीसँगको अनौपचारिक फोटो फेसबुकमा राखेपछि विवादमा तानिएका थिए ।


  •  
  •  
  •