काठमाडौं, २५ असार (ओएनएस) । एमालेका सबैभन्दा पाका नेता भरतमोहन अधिकारीले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । उनले राजधानीमा जारी पार्टीको महाधिवेशनकै यस्तो घोषणा गरेका हुन् ।
बन्दसत्रमा एक घण्टा लामो सम्बोधन गर्दै उनले भने ‘अब सक्रिय राजनीति गर्दिँन ।’ २००९ बाट कम्युनिष्ट बनेका अधिकारी दोस्रो महाधिवेशनदेखि नवौं महाधिवेशनसम्म लगातार महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् ।
तर उनी कहिले पनि पदाधिकारी बनेन् । नवौं महाधिवेशन सम्म आइपुग्दा अधिकारीले आफू सक्रिय राजनीतिबाट विदा लिनेमात्र बताएनन, जाँदा जाँदै पार्टीले अवस्थाप्रति गंभिर चिन्ता व्यक्त गरे ।
अध्यक्ष र महाधिवेशन प्रतिनिधिहरुलाई भावुक सम्बोधन गर्दै अधिकारीले भने,‘ म पार्टीबाट औपचारिक विदा हुँदा पार्टी अवस्था लथालिंग छ । यस्तो अवस्थामा पार्टीबाट विदा लिँदा मलाई चिन्ता लागेको छ । यसलाई अध्यक्षले मिलाउनुपर्छ ।’
अधिकारीले सम्बोधन गरिसकेपछि प्रतिनिधिले उनको सहयोगमा पाँच मिनेटसम्म ताली बजाएका थिए ।
२०१० सालदेखि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहँदै आएका अधिकारीले करिब ६० वर्ष कार्यकारी पदमा बसेर काम गर्दै आएका थिए ।
तत्कालीन नेकपा माले र माक्र्सवादीबीच ०४७ सालमा एकीकरण भएर एमाले बनेपछि माक्र्सवादी बनेका अधिकार निरन्तर एमालेको कार्यकारी नेतृत्वमा थिए ।
उनी एमालेमा सबैभन्दा बढी अर्थमन्त्री हुनेमा पर्छन् । ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारको पालामा अर्थमन्त्री बनेका अधिकारीले ल्याएको बजेट अहिले पनि लोकप्रिय रहेको छ । उनले तीनखम्बे अर्थनीतिको ल्याएका थिए ।