भारतको चन्द्रयान–२ सम्पर्कविहिन

189
  •  
  •  
  •  

नयाँदिल्ली । भारतीय महत्वकांक्षी अन्तरिक्षयान चन्द्रयान दुई अन्तिम चरणमा आएर सम्पर्क टुटेको छ । चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिले चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का अध्यक्ष के सिवनले विक्रम ल्याण्डर योजनाअनुरुप नै उत्रिरहेको बताए । उनले भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढासम्म सबै सामान्य थियो । तर त्यसपछि उसँग सम्पर्क टुटेको छ । डेटाको समीक्षा भैरहेको छ ।’

योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो ।भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए ।

सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास देखिन्थे । विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’

भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो ।
बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।
विक्रम ल्याण्डर पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरसँग अलग हुँदै थियो त्यसपछि उसलाई चन्द्रमाको सतहमा ल्याण्ड गराउने योजना थियो । ल्याण्डरसँगै प्रज्ञान नाम गरेको रोभर पनि थियो । जसले ल्याण्डरको सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना थियो ।

इसरोले चन्द्रयान–२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव छनोट गरेको थियो । त्यहाँ विक्रम ल्याण्डरलाई सफ्ट ल्याडिङ गराइँदै थियो तर ल्याण्ड हुनुभन्दा केही पहिले मात्रै सम्पर्क विच्छेद भैदियो ।

अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो । यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ ।
चन्द्रयान दुईका लागि भारतले १४ दशमलब एक करोड डलर लगानी गरेको थियो ।


  •  
  •  
  •