विमानस्थल सुन तस्करीः प्रहरी–भन्सार जालो च्यातिँदै

709
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ  ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा प्रहरी र भन्सारको प्रत्यक्ष संलग्नताको आरोप बलियो बन्दै गएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार आफ्नै संगठनका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको छ। साढे ३३ किलो सुन बरामद घटनाको एक महिनापछि ब्युरोले विमानस्थलमा प्रहरी–भन्सार तस्करी जालो च्यात्ने प्रयास थालेको हो।

उक्त प्रकरण अनुसन्धानले विमानस्थलस्थित अध्यागमन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सशस्त्र प्रहरीका अधिकारी, विमान कम्पनीका कर्मचारीदेखि विमानस्थलमा ग्राउन्डेड सेवा दिँदै आएका संस्थाका अधिकारीसमेत तानिँदै छन् । सुन काण्डको अनुसन्धान गरिरहेका एक अधिकारीले नेपालबाट विदेशी मुद्रा सहजै विमानसम्म पुर्‍याउने र विदेशबाट आउने सुन विमानस्थल कटाउने कार्यमा संलग्नको सूची तयार पारेको बताए ।

सुन भित्र्याउने र नेपालबाट विदेशी मुद्रा पठाउने कार्यमा एक निकायको संलग्नताले मात्र सम्भव नभएको अनुसन्धान अधिकारीको संकेत छ । ब्युरोमा कार्यरत वरिष्ठ अधिकारीका अनुसार सुन र विदेशी मुद्रा तस्करीका विषयमा विमानस्थलमा कार्यरत सबै निकाय जानकार थिए । सुन र विदेशी मुद्रा तस्करीमा प्रहरी र भन्सारका कर्मचारी प्रत्यक्ष संलग्न देखिए पनि तस्करीबाट हुने आर्थिक लाभको हिस्सा सबैले प्राप्त गर्दै आएको अनुसन्धानमा देखिएको हो ।

पछिल्लो एक महिनादेखि पक्राउ परेका चार सर्वसाधारण र तीन सरकारी कर्मचारीका विषयमा विवरण संकलन गरिरहेको ब्युरोले खत्रीको सम्पर्क बारम्बार भन्सारका अधिकृत श्रीनारायण यादवसँग भएको प्रमाण जुटाएको छ ।

ब्युरोसँगको प्रारम्भिक बयानमा भने खत्रीले यादवसँग आफ्नो व्यावसायिक सम्बन्ध रहेको दाबी गर्दै आएका थिए । तर खत्रीको सम्पर्क यादवबाहेक तस्करी समूहका अन्य सदस्यसँग समेत रहेको एवं मुद्रा लैजान र सुन ल्याउन उनको सहयोगी भूमिका देखिएपछि ब्युरोले हिरासतमा लिएको हो ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीले देशको अर्थतन्त्रमै ठूलो असर पुगेकाले यसको सञ्जाल ठूलो भएको बताए । उनले सुन तस्करीमा खत्री संलग्न रहेको पाइएपछि उनलाई हिरासतमा लिइएको बताए । ब्युरोले पुस २१ मा बरामद गरेको साढे ३३ किलो सुन भिœयाउन खत्रीको संलग्नता देखिएपछि उनलाई हिरासतमा राखेको हो ।

सिलवालले भने, ‘ठूलो संयन्त्र देशकै अर्थतन्त्र तहसनहस बनाउन लामो समयदेखि सक्रिय रहेको देखियो । यसमा व्यक्ति र कुनै एक संस्थाको मात्र संलग्नता र सहयोग पर्याप्त हँुदैन, हामी अनुसन्धान गरिरहेका छौं ।’ उनका अनुसार नेपालबाट विदेशी मुद्रा पठाउने र सुन ल्याउन सहयोग गर्ने ठूलो सञ्जाल विमानस्थलभित्रै छ ।

ब्युरोका अनुसार खत्रीलाई संगठित अपराध निवारण ऐनअनुसार मुद्दामा म्याद थप हुनेछ । सुन तस्करीमा संलग्न रहेको आधार भेटेलगत्तै प्रहरी प्रधान कार्यालयले त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत खत्रीलाई फिर्ता बोलाएको थियो । ब्युरो हिरासतमा रहेका भरिया, मध्यस्थकर्ता र सरकारी कर्मचारीसँगको बयानमा प्रहरी अधिकारीसहित अन्य निकायमा कार्यरत अधिकारीको नाम र भूमिका खुल्दै गएको हो । विमानस्थलबाट प्रस्थान र आगमनका क्रममा विभिन्न भूमिका र जिम्मेवारीमा खटिएका निकायका अधिकारीसमेत ब्युरोको निगरानीमा छन् ।

ब्युरो टोलीले पुस २१ मा संयुक्त अरब इमिरेटस (युएई) बाट आएका एक यात्रुको लगेजबाट २ सय ८२ थान सुनका बिस्कुट बरामद गरेको थियो । एयर अरेबियाको उडानमा दुबईबाट आएका नेपालगन्जका युवा गोपालबहादुर शाहीको लगेजमा सुन बरामद भएको हो । ब्युरोले सुन लिन जाने दुई जना र भन्सारका दुई अधिकृत, एक सुब्बासहित थप एक जनालाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । शाही दुबईबाट काठमाडौं ओर्लिएको भोलिपल्टमात्र लगेज लिन भन्सार पुगेका थिए ।

दुबईबाट अवैध रूपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा४च ९११४ नम्बरको गाडीसहित पक्राउ परेका छन् । तस्करीमा संलग्न आरोपमा भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल, नायब सुब्बा श्याम श्रेष्ठ  हिरासतमा छन् । ब्युरो टोलीले पक्राउ गरेका अन्य एकको भने नाम सार्वजनिक गरिएको छैन।
नागरिकबाट


  •  
  •  
  •