भागरथीको शव १७ औँ दिनमा अन्त्येष्टि

653
  •  
  •  
  •  


काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव १७ औँ दिनमा अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो जिल्ला अस्पताल बैतडीको गोठलापानिबाट शवयात्रा निकाल्दै सेरास्थित महाकाली नदी किनारमा मृतक भागरथी भट्टलाई राष्ट्रिय झण्डा ओढाएर सम्मानका साथ अन्त्येष्टि गरिएको हो । शब अन्त्येष्टिमा आफन्त, स्थानीय पत्रकार, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
भागरथीको शव जिल्ला बैतडीको शवगृहमा राखिएको थियो ।

शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो । गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको अभियोगमा सार्वजनिक गरेको थियो ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् । शव बुझ्नुभन्दा पहिला आज बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्षरुपमा गर्न आग्रह गरेका थिए ।

बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।


  •  
  •  
  •