काठमाडौं, १३ कात्तिक (ओएनएस) : अमेरिकाको हार्वर्ड युनिभर्सिटी विश्वभरमै उत्कृष्ट विश्वविद्यालय बनेको छ ।
अमेरिकाको प्रमुख सञ्चार कम्पनी ‘यूएस न्यूज एण्ड वल्र्ड रिपोर्ट’ले सार्वजनिक गरेको विश्वका ५ सय उत्कृष्ट विश्वविद्यालयको सूचीमा हार्वर्ड शीर्ष स्थानमा रहेको छ । सूचीको शीर्ष १० स्थानमध्ये आठ ओटा अमेरिका र दुईओटा बेलायतका विद्यालय छन् ।
विश्वका ४९ ओटा राष्ट्रका ५ सय ओटा प्रमुख स्कुल समावेस गरिएको सो रिपोर्टका अनुसार चौथो स्थानसम्म अमेरिकाकै स्कुल छन् ।
सूचिको दोश्रो,तेस्रो र चौथो स्थनमा क्रमशः म्यासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ क्यारोलिना बर्कले, स्ट्यानफोर्ड युनिभर्सिटी छन् । त्यस्तै पाँचौं र छैटौं स्थानमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड र युनिभर्सिटी अफ क्याम्ब्रिज छ ।
त्यसैगरी, अमेरिकाका क्यालिफोर्निया इन्ष्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ क्यारोलिना–लस एञ्जलस, युनिभर्सिटी अफ सिकागो र कोलम्बिया युनिभर्सिटी क्रमशः सूचीको सातौ आठौ नौं र दशौं स्थानमा छन् ।
सूचीमा अमेरिकाका जम्मा १ सय ३४ ओटा विद्यालय सूचीकृत भएका छन् । त्यस्तै यसैमा जर्मनीका ४२ ओटा र बेलायतका ३८ ओटा स्कूल छन् ।
एशियाका १ सय १५ ओटा विद्यालय परेका छन् । जसमध्ये चीनका २७ ओटा र भारतका चार ओटा विद्यालय छन् ।
एशियाको सूचीको शीर्ष पाँच स्थानमा जापानको युनिभर्सिटी अफ टोकियो, चीनको पेकिङ युनिभर्सिटी, हङकङको युनिभर्सिटी अफ हङकङ, सिङ्गापुरको नेशनल युनिभर्सिटी अफ सिङ्गापुर र जापानकै क्योटो युनिभर्सिटी छन् । एजेन्सी