एक सय ५५ जनाभन्दा बढी बेपत्ता

144
  •  
  •  
  •  

काठमाडौं १९ साउन (ओएनएस) :
सुनकोसी थुन्ने गरी पहाडै खसेर आएको पहिरोमा परी एक सय ५५ जनाभन्दा बढी बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार बेपत्ता हुनेमा मांखा गाविसका एक सय २२ जना, टेकानपुरका नौजना र राम्चेका २२ जना छन्। बेपत्ता दुईजनाको ठेगाना खुलेको छैन।

पहिरोमा परी मृत्यु हुनेको थप एउटा शव आइतबार फेला परेको छ। प्रहरीका अनुसार भत्किएको घर उत्खनन गर्दा मांखा-१ ड्यामकी सात वर्षीया सुआना श्रेष्ठको शव फेला परेको हो। शनिबार आठजनाको शव र एकजनाको हात फेला परेको थियो। शनिबार बिहान ३ बजेतिर मांखा गाविसको जुरे पहाड सुनकोसीमा खसेको हो।

घटनास्थलमा बेपत्ताका आफन्तको भीड लागेको छ। बेपत्ताका आफन्तले अब उनीहरू जीवित फेला पर्ने आस मारिसकेका छन्। शव फेला पर्ने आसमा आइतबार दिनभर आफन्त घटनास्थल वरपर शोकाकुल अवस्थामा बसिरहेका थिए। एकै परिवारका १० जनासम्म बेपत्ता छन्।

राम्चे र मांखाको सीमामा पर्ने बस्तीसहितको पहाड खस्दा सुनकोसी थुनिएको थियो। पहिरोले अरनिको राजमार्गको ड्यामसाइटका घरहरू पुरिएका छन् भने टेकानपुरको दाबी गाउँसमेत पहिरोले बगाएको छ। पहिरोले मांखा, राम्चे र टेकानपुरका ५२ घर बगाएको पराजुलीले बताए। जुरेका १९ घर डुबानमा परेका छन्। १५ वटा घर पहिरोले बगाएको इटनी गाउँका एकजना बेपत्ता छन्।

घटनास्थलमा आइतबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी र उद्धारकार्य जारी राखेका छन्। सोमबार बिहानैबाट स्काभेटर र डोजर प्रयोग गरेर खोजी गरिने पराजुलीले बताए।

पहिरोले नदी थुनिएपछि झन्डै दुई किलोमिटर क्षेत्रमा ताल बनेको छ। सेनाले दुईपटक विस्फोट गराएपछि शनिबार साँझदेखि नदी आफ्नै बाटोमा बग्न थालेको छ। नदीमा जमेको पानी खासै नघटेकाले आसपासका बासिन्दाले सुरक्षित महसुस गर्न सकेका छैनन्। ताल बनेको ठाउँबाट तलतिर मात्र होइन त्यसभन्दा माथि पर्ने बाह्रबिसेलगायतका बासिन्दा पनि त्रासमा छन्। मृतकका आफन्तको पहिचान हुन नसक्दा दाहसंस्कार हुन सकेको छैन। सदरमुकामस्थित चौतारा अस्पतालमा आठजनाको शव राखिएको छ।

विस्थापितहरू सशस्त्र प्रहरी बेस क्याम्प, टुकी संघ सुनकोसी थुम्पाखरलगायतका स्थानमा आश्रय लिएर बसेका छन्। मृतकका परिवारलाई स्थानीय प्रशासनले तत्काल उपलब्ध गराउनसक्ने राहत रकमसमेत वितरण हुन सकेको छैन। राजधानीमा आफन्त हुने र त्यहाँ जान चाहने केहीलाई स्थानीय प्रशासनले यातायातको व्यवस्था गरेर काठमाडौं पठाएको छ।

प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार बेपत्ता हुनेमा मांखा गाविसका एक सय २२ जना, टेकानपुरका नौजना र राम्चेका २२ जना छन्। बेपत्ता दुईजनाको ठेगाना खुलेको छैन। घटनास्थमा बेपत्ता खोज्‍न आफन्तको भीड लागेको छ।

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, सिँचाइमन्त्री एनपी साउद, एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, संविधानसभा राज्य व्यवस्था समिति सदस्य गंगालाल तुलाधर र सभासद् शेरबहादुर तामाङले आइतबार घटनास्थल निरीक्षण गरे। उक्त टोलीले घटनाबारे जानकारी लिएपछि उद्धार कार्यमा कुनै कमी आउन नदिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। गृहमन्त्री गौतमले घरबार नभएकालाई पुनर्वास गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। उनले क्षतविक्षत अरनिको राजमार्गको विकल्प खोज्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताए।

गौतमले घटनास्थलबाट एक किलोमिटर पूर्व र दक्षिणका सबै बस्ती खाली गराउन आग्रह गरेका छन्। गौतमसँगै आएका पहिरो तथा भूगर्भविद् रञ्जनकुमार दाहालले चट्टानबाट पानी बिस्तारै बाहिर आएकाले खतरा कम भएको बताए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •