सेना, प्रहरी र सशस्त्रका सबै ब्यारेकमा डेढ वर्षभित्रै बायो ग्यास

176
  •  
  •  
  •  

काठमाडौं १५ पुस ।
तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै ब्यारेकमा खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्न डेढ वर्षभित्रै बायो ग्यास प्लान्ट जडान गरिने भएको छ । सरकारले तीनवटै सुरक्षा निकायमा बायो ग्यास प्लान्ट स्थापनाको कार्ययोजना ल्याएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा तीनवटै सुरक्षा निकायका ५ सय ४० वटा ब्यारेकमा एक/एकवटा बायो ग्यास प्लान्ट जडान गरिनेछ । प्लान्टले ब्यारेकमा रहेका शौचालयहरूको शौच र जैविक फोहोरबाट बायो ग्यास उत्पादन गरी २ लाखभन्दा बढीको संख्यामा रहेका सेना, सशस्त्र र प्रहरीका लागि खाना पकाइनेछ ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार तीनवटा सुरक्षा निकायका व्यारेकमध्ये ५ सय ४० वटा बायो ग्यास प्लान्ट राख्न फिजिबल छन् । सशस्त्रमा १ सय ९०, नेपाल प्रहरीमा २ सय, नेपाली सेनाका १ सय ५० ब्यारेकमा बायो ग्यास प्लान्ट स्थापना गरिनेछ ।
५ सय ४० वटा ब्यारेकमा बायो ग्यासमा खाना पकाउन थालेपछि तीनवटा सुरक्षा निकायमा वर्षेनि प्रयोग हुँदै आएको ६० हजारभन्दा सिलिन्डर ग्यास प्रतिस्थापन हुनेन् । त्यसबाट तीनवटा सुरक्षा निकायको वर्षेनि ग्यासमा खर्च हुने ९ करोड रुपैयाँभन्दा बढी बचत हुनेछ । ५ सय ४० वटा बायो ग्यास स्थापना गर्न ३३ करोड रुपैयाँ लाग्ने अनुमान केन्द्रको छ ।

बायो ग्यास प्लान्ट स्थापना गर्न केन्द्र र सशस्त्रबीच सम्झौता भइसकेको छ भने सेना र नेपाल प्रहरीसित छिट्टै सम्झौता हुने जानकारी धितालले दिए । उनका अनुसार सबै ब्यारेकमा एक वर्षभित्र बायो ग्यास प्लान्ट जडान गरिसक्ने योजना केन्द्रको छ, तर भारतको नाकाबन्दीका उपकरण ल्याउन समस्या भएकाले डेढ वर्ष लाग्न सक्ने केन्द्रका अधिकारी बताउँछन् ।

केन्द्रले ती ब्यारेकमा बत्ती बाल्नका लागि सौर्य ऊर्जासमेत जडान गरिदिने भएको छ । त्यसबाट मुलुकमा केही हदसम्म ऊर्जा संकट कम गर्न मद्दत पुग्नेछ ।
नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने

यसैबीच नेपालमा नवीकरणीय ऊर्जाकोे सम्भावनाबारेमा सर्वसाधारण, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न राजधानीको भृकुटीमण्डपमा पुस १७ देखि १९ सम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा संकटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास सरकारको छ ।

केन्द्रका कार्यकारी निर्देशक धितालले नवीकरणीय ऊर्जाको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताए । उनले उपत्यकाका तीनवटै सहरका सर्वसाधारणलाई सौर्य ऊर्जाका उपकरण कहाँ पाइन्छ, कति खर्च लाग्छ, कति टिकाउ हुन् भन्नेलगायतका कुरा जानकारी दिन र लिन प्रदर्शनी उपयोगी हुने बताए ।

सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिन सक्ने छ ।
‘उर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जा’ नारा राखिएको प्रर्दशनीमा नवीकरणीय ऊर्जाका प्रविधि सोलार, सुधारिएको चुलो, बायोग्यास, लघुजलविद्युत, बायोग्यास आदिका १ सय २५ वटा स्टल राखिनेछ । प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन् ।
कान्तिपुरबाट


  •  
  •  
  •