८ वर्षअघि व्यापारी दम्पत्तिको हत्या गर्ने गौतम पक्राउ

374
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): ८ वर्षदखि प्रहरीको खोजीमा रहेका हत्याका मुख्य आरोपीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलमा एक व्यापारी दम्पतीको हत्या गरी फरार रहेको भन्दै प्रहरीले सैनामैना–८ का २७ वर्षीय अर्जुन गौतमलाई पक्राउ गरेको हो।

२०६७ असार ९ गते बुटवल–६ जेसिजचोकस्थित ‘भण्डारी स्टोर्स’का दम्पती रमेश भण्डारी र आशाको हत्यामा संलग्न मुख्य आरोपी अर्जुन गौतमलाई भारतबाट नेपाल आउँदै गरेको अवस्था सुनौली नाकाबाट शनिबार पक्राउ गरेको हो ।

प्रहरीले उनीसँगै अर्का सुटर कृष्ण गौतमको नाम पनि खोजीको सूचीमा राखेको छ । अर्जुन र कृष्ण सहोदर दाजु–भाइ हुन् ।

आरोपी गौतमले भण्डारी स्टोर्समा प्रवेश गरी रमेशलाई २ र आशालाई १ गोली प्रहार गरेका थिए । रमेशको घटनास्थलमा र आशाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले विशेष सूचनाका आधारमा गौतमलाई पक्राउ गर्न सकिएको बताए।

गौतम उक्त घटना अगाडि २०६५ मा पनि अटोमेटिक पेस्तोल र १२ राउण्ड गोली सहित पक्राउ परी हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता भइ पुर्पक्षका लागि थुनामा समेत परेका थिए ।

उक्त घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निमप्रसाद थापा, श्यामप्रसाद विक, पुरन श्रीष, राजु गलामीलाई यस अगाडि नै पक्राउ गरी जिल्ला अदालत रुपन्देहीको आदेशमा थुनामा छन् । इलाका प्रहरी कार्यालय, बुटवलमा आइतबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरिएको हो।


  •  
  •  
  •