बौद्धनाथमा पर्यटक शौचालय

100
  •  
  •  
  •  

काठमाडौँ, २९ जेठ (ओएनएस) । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ परिसरभित्र ‘पर्यटक शौचालय’ निर्माण सुरु गरेको छ । बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको सो क्षेत्रमा घुम्न आउने पर्यटकलाई शौचालयको अभावमा असुविधा भएपछि शौचालय निर्माण गर्न लागिएको हो ।

बौद्धनाथ चैत्यको पश्चिमतर्फ करिब १५० वर्गफिटमा दुई महिनाको समयावधिमा शौचालय निर्माण गरिने छ । विश्व सम्पदा सूचीमा परेको सो क्षेत्रमा चैत्यको स्वरुपलाई कुनै अवरोध नपुग्ने गरी पुरातत्व विभागको अनुमति लिएर करिब रु १० लाखको लागतमा तीन शौचालय निर्माण गर्न थालिएको छ । त्यसमा एउटा महिलामैत्री तथा दुई वटा पुरुषमैत्री शौचालय बन्ने छ ।

पर्यटकका लागि शौचालय निर्माण गरिएकाले पर्यटकलाई मात्र निःशुल्क प्रवेश गर्न दिइने कोषले जनाएको छ । त्यसैगरी सो परिसरको दक्षिणतर्फ बाहिरपट्टि रहेको पोखरीनेर पनि आन्तरिक पर्यटकका लागि शौचालय निर्माण गरिने बताइएको छ । रासस


  •  
  •  
  •