कार्यदल बैठक तनावपूर्ण, वार्ता भंगभएको मोर्चाको घोषणा

172
  •  
  •  
  •  

काठमाडौं ५ माघ । तीन दल बैठक सकिनेबित्तिकै बालुवाटारमा सोमबार राति एक घण्टा चलेको तीन दल – मोर्चा कार्यदल बैठक तनावपूर्ण बन्यो ।

बैठकको सुरुमा तीन दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले मोर्चाका मागबारे तीन दलीय शीर्ष नेतृत्वको निष्कर्ष सुनाउँदै तत्काल संविधान संशोधनमार्फत् सबै माग पूरा गर्न नसकिने, भाषा परिमार्जन गरेर सम्झौता भने गर्न सकिने बताएपछि मोर्चा नेताहरु आक्रोशित भएका थिए । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनमार्फत् मधेस आन्दोलनको अवतरण गराउन तीन ठूला दल अनिच्छुक भएको आरोप लगाउँदै अब कार्यदल वार्तामा आफूहरु नबस्ने चेतावनी दिए । ‘उहाँहरु कागजमा सम्झौता गर्न त चाहनुहुन्छ, तर त्यसका आधारमा संविधान संशोधन गर्न चाहनुहुन्न भन्ने हामीले बुझिसकेका छौं, उहाँहरु संविधान छुनै चाहनुहुन्न भनेपछि हामी वार्तामा अल्मलिइरहनुको औचित्य के ?’ कर्णले बैठकपछि कान्तिपुरसँग भने, ‘अब जे कुरा गर्नु छ, शीर्ष नेताहरुले गरुन्, हामी वार्तामा बस्दैनौं ।’

तीन दलका तर्फबाट नेताहरुले संवादबाटै सहमतिका विकल्पहरु खोज्न आग्रह गरे पनि मोर्चा आवेशमा आएर उठेको एक कार्यदल सदस्यले बताए । अहिले पनि ठूला दलहरु लिखित सम्झौता गर्न प्रतिबद्ध रहेको भन्दै उनले मोर्चालाई लचकता देखाउन आग्रह गरे । बैठक एकाएक तनावपूर्ण बनेपछि दुई पक्षबीच दोहोरो वाद-प्रतिवाद एक घण्टा चल्यो ।

‘तीन दलले हाम्रो लिखित प्रस्ताव इन्कार गरे, त्यसैले हामी उठेर हिँड्यौं,’ बैठकबाट निस्केपछि तमसपा वरिष्ठ नेता रामनरेश राय यादवले भने, ‘उहाँहरु संविधान संशोधन गराउन चाहनुहुन्न भन्ने बुझेपछि के बसिरहने ?’

बैठकमा मोर्चा नेताले अहिलेको संविधानलाई बाइबल/कुरान मानेर तीन दल हिडिरहेकाले संवादबाट सहमति अझै टाढा रहेको आक्रोश पोखेका थिए । एमाओवादी महासचिव कृष्णबहादुर महराले लिखित सम्झौता गर्ने प्रस्ताव तीन दलका तर्फबाट सकारात्मक ढंगबाट आएकाले अन्यथा नलिन आग्रह गरे ।
कान्तिपुरबाट


  •  
  •  
  •