कुरा मिलेपछिमात्र औपचारिक वार्ता

205
  •  
  •  
  •  

काठमाडौं ३ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अनौपचारिक छलफलमा कुरा मिलेपछिमात्र औपचारिक वार्ता गर्ने समझदारी भएको छ । कांग्रेस र एमाओवादीका दोस्रो तहका नेताहरूको अनौपचारिक छलफलबाट सहमति निकालेपछि औपचारिक वार्ता गर्नु उपयुक्त हुने दुई नेताले निश्कर्ष निकालेका छन् ।

लामो समयको तिक्तता र संवादहीनतापछि शनिबार भएको वार्ताका क्रममा सत्तापक्षका नेता कोइराला र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका संयोजक दाहाल यस्तो निश्कर्ष निकालेको स्रोतले जनाएको छ । कोइराला र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब साव घण्टा कुराकानी भएको थियो ।

दुई शिर्ष नेताबीच ‘सकरात्मक’ कुराकानी भएको स्रोतले उल्लेख गरेको छ । संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएपछि पहिलोपटक दाहाल बालुवाटार गएर प्रधानमन्त्रीसित छलफल गरेका हुन् । कोइरालाले वार्ताका लागि वातावरण बनाउने आश्वासन दिएका छन् । भेटमा दाहालले वार्ताका लागि पहल गरेकामा कोइरालालाई धन्यवाद दिदै शान्ति प्रक्रिया र आन्दोलनका सहयात्रीबीचको सहमतिका आधारमा संविधान बनाउने प्रतिवद्धता सत्तपापक्षले व्यक्त गरे समझदारीको प्रयास अघि बढ्ने बताएका छन् । दुई नेताले वार्ताका लागि वार्ता गर्नुको अर्थ नहुने भन्दै ठोस सहमतिपछि मात्र औपचारिक वार्ता गर्नेमा एकमत भएका छन् ।

‘वार्ताको वातावरण बनाउन प्रधामन्त्री सकारात्मक देखिनु हुन्छ, उहा कति सफल हुनुहुन्छ ?’ भेटपछि दाहालले निकट एक नेतासंग भने, ‘सहमतिमा संविधान निर्माण गर्ने प्रतिबद्धता भएपछि मात्र औपचारिक रुपमा वार्ता सुरु हुन्छ ।’ दाहालले आफू ३० दलका तर्फबाट नभई बिपक्षी दलको नेताको हैसियतले बालुवाटार गएको बताएका थिए । दाहालले सहमतिका लागि भन्दै संविधानसभाभित्रको प्रक्रिया अनिश्चितकालका स्थगित गर्नु सकारात्मक भएको भन्दै बहुमतीय प्रक्रियाले पेल्ने आशंका व्यक्त गरेका थिए ।’हामीलाई अझै पनि बहुमतीय प्रक्रिया अघि बढ्ने आशंका छ, त्यो आशंका प्रधानमन्त्रीजीले मेटाउन आवश्यक छ’ दाहालको भनाइ थियो । दाहालले आफ्नो पहिलो चरणको आन्दोलन फागुन १६ मा समापन हुने भन्दै त्यसबेलासम्म सहज वातावरण बनाउन आग्रह गरेका थिए । कांग्रेस, एमालेका दोस्रो तहका नेताबीच छलफल भइरहेको छ । शिर्ष नेताको निर्देशनमा दुई पक्षका नेताहरुले संघीयतालगायतका बिषयमा छलफल गरिरहेको स्रोतको भनाइ छ ।

दाहालसंगको छलफलपछि कांग्रेस पदाधिकारी बैठकले एमाओवादीसहित विपक्षी मोर्चासंग बार्ताका लागि गम्भिर पहल थाल्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको बैठकले प्रकृयालाई नरोकी एमाओवादीसहितको विपक्षी मोर्चासंग गम्भिर भएर बार्ताको पहल थाल्नुपर्ने निष्कर्ष निकालेको जानकारी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले दिए ।

यसअघि कांग्रेस र एमालेसहित संविधान निर्माणको नौ बूदे अवधारणामा हस्ताक्षर गर्नेहरुले प्रधानमन्त्री कोइरालालाई विपक्षी मोर्चासंग बार्ता गर्ने जिम्मेबारी दिएको थियो । त्यसयता एमाओवादी अध्यक्ष दाहाललाई तीनपटक टेलिफोन र एकपटक भेटेरै कुराकानी गर ेपनि औपचारिक बार्ताका लागि वातावरण भने बनिसकेको थिएन । प्रधानमन्त्री कोइरालाले विहिबार पनि एमाओवादी अध्यक्ष दाहाललाई टेलिफोन गरी बार्तामा बस्न आग्रह गरेका थिए । स्रोतका अनुसार कोइरालाले आन्दोलन छाडेर बार्तामा बस्न आग्रह गरेका हुन् । उनले संविधान निर्माणका विवादित बिषय सहमतिबाटै टुंग्याउन आफू दृढ रहेको समेत बताएका थिए ।

कांग्रेस प्रवक्ता दिलेन्द्र बडुका अनुसार प्रधानमन्त्री कोइरालाले टेलिफोन मार्फत बार्ताका लागि विपक्षी मोर्चालाई आव्हान गरेको बताए । ‘औपचारिक र अनौपचारिक तवरमा बार्ताका लागि प्रधानमन्त्रीले आहवान गरीरहनु भएको छ’ बडुले भने,’विहिबारको टेलीफोन बार्तामा पनि कोइरालाले सहमतिकै लागि बार्तामा बस्न जोड दिनुभएको हो ।’

एमाओवादीसहितका विपक्षी मोर्चासंग कसरी बार्ता सुरु गर्ने भन्नेबारेमा शुक्रबार कांग्रेस र एमालेको बैठकसमेत बस्ने भएको छ । कांग्रेस सहमहामन्त्री खडकाका अनुसार प्रस्ताव समितिले गरेका कामको समिक्षा गर्ने र बार्ताको प्रकृयालाई अघि बढाउनेबारे छलफल हुने बताए । ‘बार्ता र प्रकृयालाई संगसंगै अघि लैजाने कुराकानी भएको छ । बार्ताका लागि प्रधानमन्त्रीले अझै गम्भिर भएर पहल गर्नुपर्छ भन्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष रह्यो’ खडकाले भने, ‘शनिबार एमालेसंग छलफल हुन्छ ।’

प्रधानमन्त्रीका अतिरिक्त अन्य नेताहरुले पनि अनौपचारिक तहमा बार्ताका लागि पहल गरीरहेका छन् । कांग्रेस, एमालेका दोस्रो तहका नेताहरुले एमाओवादी र मधेशी मोर्चाका नेताहरुसंग विभिन्न तहमा छलफल गरी सहमतिका लागि पहल गरिरहेका छन् । कांग्रेस सहमहामन्त्री खडकाले अनौपचारिक तवरमा छलफल भइरहेपनि परिणाम सकारात्मक आई नसकेको बताए । ‘अहिल्यै यसै भन्ने अवस्थामा छैन’ उनले भने,’विभिन्न तह र स्तरमा छलफल भने भइरहेको छ ।’ यसैबीच संवैधानिक निकाय लोकसेवा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहको पदाधिकारी नियुक्त गर्ने पिषयमा कोइराला र दाहालबीच छलफल भए पनि सहमति भइसकेको छैन ।

मलाई चारैतिरबाट दबाव छः दाहाल

एमाओवादी अध्यक्ष दाहालले आफूमाथि चारैतिरबाट दबाब परेको बताएका छन् । रजधानीमा ३० दलीय मोर्चाको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूमाथि चारैतिरबाट दबाब आएको बताएका हुन् । ‘राष्ट्रसंघका प्रतिनिधिहरूले वार्तामा बस्न गरेको आग्रह, छिमेकी देशको सहमतिका आधारमा संविधान जारी गर्न दबाव, ३० दल, मोहन वैद्य नेतृत्वमो माओवादीको दबाव छ । नागरिक समाजका अगुवाहरुले वार्ता गर्न दबाव दिनुभएको छ’ उनले भने, ‘प्रधानमन्त्री आफै मेरो निवास आएर वार्ता गरौ भन्नुभयो । तर वार्ताको वातवारण बनेको छैन ।’ उनले वार्ताको रटान दिएर आन्दोलनमा फाटो ल्याउने प्रयास भइरहेको दाबीसमेत गरे ।

‘सहमतिमा संविधान ग्यारेण्टी नभएसम्म आन्दोलन जारी रहनेछ’ उनले भने, ‘यो आन्दोलनको रिहर्सलमात्र हो । साथीहरु कब्जा गर्न तयार भएर बस्नु भएको छ’ उनले भने । दाहालले संविधानसभाभित्र बहुमतीय प्रक्रिया पूर्ण रुपमा नरोकिएसम्म आन्दोलन नरोकिने बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •