मधेसी मोर्चासँग वार्ता गर्ने सरकारको तयारी

261
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) सरकारले मधेसी मोर्चालगायत संविधानका विषयमा असन्तुष्ट सबै पक्षसँग चरणवद्ध वार्ता गर्ने भएको छ । अर्को हप्ता मधेसी मोर्चासँग वार्ता गर्ने तयारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसीलगायतका दलसँग सरकारले वार्ता गर्ने तयारी गरेको जानकारी दिए । उनले ढिलोमा अर्को हप्ता वार्ता हुने बताए ।

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले दिएको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले असन्तुष्ट दलहरुसँग वार्ताका लागि सरकारले तयारी गरेको र लिखित आग्रह गरेर वार्ता बोलाउने बताए । मौखिक रुपमा यसअघि नै सरकार तर्फबाट प्रधानमन्त्रीले बोलाइ सकेका छन् ।

उनले आन्दोलनबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै वार्ताको विकल्प नभएको पनि बताए । नाकाबन्दी, धर्ना र आन्दोलन जस्ता कृयाकलापबाट जनताले दुःख पाउने भएकाले दुःख दिने काम बन्द गर्नु पर्ने बताए । उनले सरकारले आन्दोलनमा जानुपर्ने परिस्थिति सिर्जना हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका मागप्रति सरकार गम्भिर रहेको पनि बताए । सकारात्मक मागलाई सरकारले सम्बोधन गर्ने पनि उनको भनाई छ ।

चुरेभावर पार्टीले भने विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, जातीय नामाकरण हुने गरी प्रदेश सीमांकन गर्न नहुनेलगायतका १४ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।


  •  
  •  
  •