प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएपछि

249
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच हिजो र आज दुई दिन लगातार टेलिफोन वार्ता भएपछि आन्दोलनरत दलसँग सहमतिको संभावना बढेको नेताहरुले बताएका छन् । संसदमा रहेका संशोधन पारित गर्ने र तीन महिनामा सीमांकन टुंग्याउने रोडम्याप बनेकाे उनीहरुले बताएका छन् ।

प्रधानमन्त्रीका एक सहयोगीका अनुसार नेपाल र भारतबीच देखिएको विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजबीच लगातार फोन वार्ता भएको हो । बुधबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासँग दिल्लीमा छलफल गरेलगत्तै उनले प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन् ।

स्रोतका अनुसार उपप्रधानमन्त्रीले दिएको सन्देश र समाधानको बाटोबारेमा उनले प्रधानमन्त्री स्तरबाट बुझ्नको लागि टेलिफोन गरेकी हुन् । उक्त बैठक सकारात्मक भएपछि उनले बिहीबार पनि टेलिफोन गरेर समस्या समाधानको बाटोमा लाग्न आवश्यक रहेको बताइन् ।

प्रमुख तीन दलको बैठक जारी रहेको अवस्थामा बिहीबार अपरान्ह टेलिफोन संवाद भएको थियो । आन्दोलनरत मधेसी मोर्चाले राखेका मागलाई राजनीतिक रुपमा सम्बोधन गरेर अहिलेको असहज अवस्थालाई छिटै अन्त्य गर्नेमा भारत सहमत भएपछि परिस्थिती सहजतातर्फ गएको प्रधानमन्त्री निकटस्थले बताए । स्वराजसँगको यो संवादपछि मधेसी मोर्चासँग निर्णायक वार्ता हुने र आपूर्तिमा भइरहेको अवरोध छिटै हट्ने विश्वास प्रधानमन्त्रीले लिएका छन् ।

प्रधानमन्त्री ओलीले सीमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दालाई पनि क्रमश: समाधान गर्ने विषयमा स्वराजसँग छलफल गरेको बताइएको छ । उनले राजनीतिक दलहरुको सम्मतिमा त्यस्तो प्रतिवद्धता ब्यक्त गरेको पनि अधिकारीहरुले बताए ।

टेलिफोन संवादपछि प्रधानमन्त्रीले केही निकटस्थसँग परिस्थिती सहज अवस्थामा जाने बताएको एक नेताले जानकारी दिए । ती नेताले भने, ‘संसदमा रहेका संसोधन प्रस्ताव पारित होस् र अन्य समस्या विस्तारै समाधान गरेर अघि बढ्दा राम्रो हुने सुझाव भारतको छ ।’

कान्तिपुरबाट


  •  
  •  
  •