वीरगन्ज घटनापछि सरकार–मोर्चाबीच दूरी बढ्यो

123
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक ।
८० दिनदेखि मधेसमा जारी आन्दोलन सम्बोधन गर्न आइतबार सरकारी वार्ता टोली पहिलोपटक गम्भीर देखिएको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि आफ्ना अडानहरूमा लचकता देखाउने छनक दिएको थियो । राजधानीस्थित संघीय समाजवादी फोरम कार्यालयबाट निस्कँदा सरकार–मोर्चा दुवै पक्षका नेता प्रफुल्ल मुद्रामा थिए । वार्ताको माहोल बनेको दुवै पक्षको ठहर थियो । तर, स्थिति भडकन १० घण्टा पनि लागेन । सोमबार बिहान ६ नबज्दै वीरगन्जका केही रेडियोले मधेसी मोर्चाका स्थानीय नेताको ‘अपिल’ बजाउन सुरु गरिसकेका थिए ।

बिहान साढे ४ बजेदेखि नेपाल–भारत सीमानाकास्थित मितेरी पुलबाट सुरक्षाकर्मीले आन्दोलनकारीलाई हटाएको भन्दै नेताहरू जनतालाई सडकमा आउन भनिरहेका थिए । नभन्दै दिउँसो दंगा भइहाल्यो । प्रहरीको गोलीले एक भारतीय युवा मारिए । थुप्रै घाइते छन् । वार्ताको माहोल बन्दै गर्दा प्रदर्शनकारी अघिल्ला दिनहरूभन्दा अझ आक्रामक रूपमा प्रस्तुत हुनु अस्वाभाविक रहेको स्थानीय सुरक्षाकर्मीको दाबी छ । आन्दोलनकारी मोर्चाका नेताहरूले भने सरकारले आन्दोलन समाप्त पार्न ३–४ दिनयता आन्तरिक तयारी गरिरहेको आरोप सोमबार अपराहन राजधानीमा पत्रकार सम्मेलनमार्फत लगाए । ‘मधेसमा केही असहज हुने गरी गतिविधि भइरहेको छ भनी हिजो हामीले सरकारी टोलीलाई जानकारी गराएका थियौं, केही मन्त्रीहरूका सार्वजनिक अभिव्यक्ति र तयारी पनि त्यस्तै थिए,’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘बिहान ५ बजेदेखि नै यसको सुरुवात भयो ।

बल्ल–बल्ल बन्दै गरेको वार्ताको माहोल सरकारले नै बिगार्‍यो ।’ मोर्चा नेताहरूले वीरगन्ज घटनालगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी आपत्ति जनाएका थिए । दाहालले लगत्तै गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग कुरा गरेका थिए । पछि मोर्चाका तर्फबाट तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले गृहमन्त्री बस्नेतसँग कुरा गर्दै सरकारको धारणा प्रस्ट पार्नुपर्ने माग गरेका थिए । ‘वार्ता अब औचित्यहीन भयो,’ त्रिपाठीले भने, ‘हामी संवादमार्फत समाधान गर्न चाहन्थ्यौं ।

सरकार दमन र मुठभेडमा ओर्लन उद्यत देखियो ।’ भारत दरभंगाका १९ वर्षीय आशिष राम प्रहरी गोली लागेर ‘सहिद भइसकेको’ भन्दै मोर्चाले विज्ञप्ति निकाली श्रद्धाञ्जलि दिएको छ । मोर्चाको सहिद घोषणाप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । मधेस आन्दोलनमा ज्यान गुमाउने र गिरफ्तार हुनेमध्ये कतिपय भारतीय भेटिनु अनुचित भएको उनीहरूले लेखेका छन् । मोर्चा नेताहरूले भने आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नु स्वाभाविक भएको जिकिर गरेका छन् । ‘०६२/६३ को आन्दोलनमा पनि भारतीय मरेका थिए, ती सहिद भए,’ सद्भावना सहअध्यक्ष कर्णले भने ।

मधेस आन्दोलनमा भारतीय प्रदर्शनकारीको घुसपैठ भइरहेको चर्चा हुँदै गर्दा मोर्चाले त्यसलाई अस्वीकार गरेको छ । निहत्था प्रदर्शनकारी सहभागी प्रदर्शनलाई घुसपैठ भएको भन्न नमिल्ने कर्णले जिकिर गर । ‘गोली बन्दुक त कोही लिएर आएको छैन, कसरी घुसपैठ भन्ने ?’ उनले भने । वीरगन्ज घटनालगत्तै काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा सरकार–मोर्चा नेताबीच चर्काचर्की परेको थियो । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उपस्थित वार्ता टोली सदस्य एवं सामान्य प्रशासनमन्त्री रेखा शर्मासमक्ष कर्णले सरकारले वीरगन्ज घटनाप्रति सरकारले माफी माग्नुपर्ने बताएपछि केहीबेर जुहारी चलेको थियो ।

शर्माले वार्ता सकारात्मक भएको अवस्थामा निकास निकाल्न आन्दोलनकारी संयमित हुनुपर्ने भन्दै वीरगन्जमा भएको घटनालाई नचर्काउन र अतिरञ्जित नगर्न आग्रह गरेकी थिइन् । ‘यस्तो बेलामा पहिलेभन्दा बढी लचकता देखाउनुपर्छ,’ उनले भनिन्, ‘वीरगन्जको घटना सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको हो । यसलाई कसैले साम्प्रदायिक, जातीय रूप दिने कोसिस नगरौं ।’ एमाले नेता रघुवीर महासेठले वीरगन्ज घटना दु:खद् भन्दै छानबिन समिति गठन गर्न माग गरे । दोषीमाथि कारबाही माग गर्दै महासेठले घटनालाई अतिरञ्जित नगर्न मधेसी मोर्चालाई आग्रह गरे । सीमांकन हेरफेरसम्बन्धी ठूला दलहरूबीच अध्यक्षीय स्तरमा समिति बनाएर छलफल गरी त्यसका आधारमा अर्को वार्ता बस्ने निर्णय गरेर छुटेका दुवै पक्षलाई वीरगन्ज घटनाले दुई ध्रुवमा उभ्याइदिएको छ । मधेसी मोर्चाले वार्तामा फर्कन कठिन भएको बताए पनि वार्ता भंग नभएको प्रस्ट पारेको छ । ‘हामी वार्ताबाट बाहिरियौं भन्ने प्रचार भइरहेको छ, त्यो सही होइन,’ मोर्चा वार्ता टोलीका एक सदस्यले बताए, ‘सरकारले माफी मागोस्, गम्भीर तयारी गरेर आओस् । हामी वार्ताबाट भाग्दैनौं ।’
कान्तिपुरबाट


  •  
  •  
  •