विश्व वातावरण दिवस मनाईंदै

554
  •  
  •  
  •  

काठमाडौं । आज विश्व वातावरण दिवस, वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।
यस वर्ष वायु प्रदुषणलाई जितौँ भन्ने नारासहित दिवस मनाईँदै छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराब प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुने आह्वान गर्दै यो नारा तय गरिएको हो ।

दिवसको अवसमारमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वमा अहिले हरित अर्थतन्त्रको खाँचो रहेको उल्लेख गरेका छन् । वातावरण संरक्षका लागि सक्रिय रुपमा काम गर्ने बेला आएको उनले उल्लेख गरेका छन् ।

यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरण मैत्री हुनुपर्ने बताएका छन् ।
एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन हुन सके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गरेका छन् ।

‘मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुन आवश्यक छ’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिम तर्फ सजग रहन आग्रह गरेका छन् ।


  •  
  •  
  •