नेता सिटौलाद्वारा शीर्ष नेताको बैठक बहिष्कार

312
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि बोलाएको शीर्ष नेताको बैठक ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिमा भएको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै आएका सिटौलाले शीर्ष नेताको बैठक बहिष्कार गरेका हुन् ।

कार्यसम्पादन समिति गठनका लागि सहमति जुटाउन सभापति शेरबहादुर देउवाले सोमबार बिहान अनौपचारिक छलफलका लागि आफ्नै निवासमा नेताहरुलाई बोलाएका थिए ।

तर सो बैठकलाई नेता सिटौलाले बहिष्कार गरेको उनका सहयोगी किरण सिटौलाले जानकारी दिएका छन् ।
उनले भने, ‘महासमिति बैठकको म्याण्डेट विपरित गरिएको निर्णयदेखि कार्यसम्पादन समितिमा गरिएको भागबण्डाहरु विधान विपरित भएकाले सिटौलाले बैठक बहिष्कार गर्नुभएको हो ।’

गत शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कार्यसम्पादन समिति गठनका लागि सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको भए पनि तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला भने असन्तुष्ट छन् ।

सिटौलाको असन्तुष्टिकै कारण गएको शनिबार बोलाइएको केन्द्रीय समिति बैठक समेत स्थगित भएको थियो ।


  •  
  •  
  •