बसन्तपुरमा होलीको चीर ठड्याइयो

50
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : काठमाडौं हनुमानढोकामा रहेको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।
बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै काठमाडौंलगायत देशभर होली पर्व शुरु भएको मानिन्छ ।

बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरमा रहेको हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।  होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रहिआएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यो वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

 


  •  
  •  
  •