ओली-प्रचण्डबीच भेटवार्ता सकियो, विवादित विषयकाे छलफलका लागि भोलि एकता संयोजन समितिको बैठक

282
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) : प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। दुर्इ अध्यक्षबीच ‘वान टु वान’ एक्ला एक्लै भेटवार्ता भएकाे हाे। पार्टी एकताको विषयमा करीब डेढ साता पछि दुर्इ अध्यक्षबीच छलफल भएको हो ।

पार्टी एकताको विवादित विषयमा सहमती जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा अाज बसेको बैठक करिब साढे २ घण्टा सम्म चलेको थियो। हिजो सिन्धुपाल्चोकको सुकेटे पुगेका प्रचण्ड फर्केपछि सिधै त्यतैबाट बालुवाटार पुगेका थिए।

बैठकमा वैशाख ९ गते गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा र एकताका लागि अझै मिल्न बाँकी रहेका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

दुई दलबीचको एकताको संरचना तय गर्न यसअघि बनेका दुईवटा कार्यदलले शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षको छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई यसअघि नै प्रतिवेदन बुझाए पनि त्यस बारेमा गहन रुपमा शीर्ष नेताबीच छलफल भएको थिएन ।

माओवादी अध्यक्ष दाहालको सचिवलायका अनुसार बैठकले भोली बिहान पार्टी एकता संयोजन समितिको बैठक बसाल्ने निष्कर्श निकालेको छ।

दुवै नेताको सहमती अनुसार भोली बिहान दुवै दलको एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्नेछ।

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा एमाले र माओवादीबीच कुरा मिल्न बाँकी छ ।

माओवादीले समानताका आधारमा एकतामा बराबरी हैसियत मागेको छ। एमालेले चुनावी नतिजाका आधारमा एकता गर्न सकिने बताउँदै आएको छ।


  •  
  •  
  •