बार्सिलोनाको हारको दोष मेसीलाई पनि दिनुपर्छ : रोनाल्डो

602
  •  
  •  
  •  

काठमाडौं : ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाको हारको दोष लियोनेल मेसीलाई समेत दिनुपर्ने बताएका छन् ।

रोनाल्डोले मेसीलाई बार्सिलोनाको सफलताको जति श्रेय दिइन्छ त्यति नै हारको पनि दोष दिनुपर्ने प्रतिक्रिया दिएका हुन् ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएर बाहिरिएपछि रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पहिलो लिगमा मेसीको २ गोलको मद्दतले लिभरपुलविरुद्ध ३–० गोल अन्तरको जित निकालेको बार्सिलोना दोस्रो लिगमा ४–० ले पराजित भएपछि सेमिफाइनलबाट बाहिरिएको थियो ।

धेरै जसो मिडिया रिपोर्टमा ब्राजिलका फिलिप कोटिन्हो र प्रशिक्षक इर्नेष्टो भालभर्डेलाई बार्सिलोनाको हारको दोष दिइरहेका बेला रोनाल्डोले मेसीलाई हारको दोषी नदेख्नु ‘अनफेयर’ हुने बताएका छन् ।

‘मैले मिडियामा देखेको छु बार्सिलोना ठुलो क्लब हो, बार्सिलोनामा उत्कृष्ट खेलाडी छन् जो मेसी हुन्, अर्को दिन फेरी मिडियामा देखिन्छ, बार्सिलोनाले मेसीले गर्दा खेल जित्यो, अन्य खेलाडीले हारे । यो सरसर अन्य खेलाडी र कोचीङ स्टाफका लागि नराम्रो कुरा हो, यस्तो हुनु हुँदैन’ उनले भने ।

रोनाल्डोले हारको दोष कुनै एक खेलाडीलाई दिनु भन्दा पुरै टिमले लिनुपर्ने बताएका छन् ।

लिभरपुलले उत्कृष्ट फुटबल खेलेको भएपनि खेलको पहिलो हाफमा बार्सिलोनाले गोल गर्ने अवसर गुमाएको रोनाल्डोले बताएका छन् ।

ब्राजिलका महान खेलाडी रोनाल्डो बार्सिलोनामा सन् १९९६–९७ मा एक सिजन खेलेका थिए । त्यस सिजनमा रोनाल्डोले ४९ खेल खेल्दै ३४ गोल गरेका थिए ।


  •  
  •  
  •