काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।