बार्सिलोनाको अपराजित यात्रा ३७ पुग्यो, गेटाफमाथि फराकिलो जित

361
  •  
  •  
  •  

काठमाडौँ, ३० फागुन(ओएनएस) : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेमाथि फराकिलो जित हासिल गर्दै आफ्नो अपराजित खेल संख्या ३७ पुर्‍याएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ६-० को फराकिलो जित हासिल गर्दै लिगमा आफ्नो अग्रतालाई कायमै राखेको छ ।

बार्सिलोनाको यो जितपछि उसको अपराजित यात्रा ३७ पुगेको छ । यो आफैमा एक रेकर्ड पनि हो । बार्सिलोनाभन्दा अगाडि अपराजित यात्राको कीर्तिमान ३५ खेलको थियो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ८ औँ मिनेटमा नै अग्रता लिएको थियो । उक्त गोल उपहार गोल अर्थात् आत्मघाती गोलका रूपमा हासिल गरेको थियो । यस्तै, खेलको ११ औँ मिनेटमा डि-बक्स भित्र नेयमारलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो तर, लियोनेल मेसीले उक्त पेनाल्टी मिस गरेका थिए । यद्यपी मेसीले टोलीको जीतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आफैले १ गोल गरे भने तीन वटा गोलका लागि पास दिएका थिए ।

खेलको १९ औँ मिनेटमा मुनिरले गोल गर्दै अग्रतालाई दोब्बर पारे ने ३२ औ मिनेटमा नेयमारले र ४० औँ मिनेटमा मेसीले गोल गर्दै खेलमा ४-० को अग्रता लिएका थिए । पहिलो हाफपछि पनि बार्सिलोना रोकिएन र थप २ गोल गर्न सफल रह्यो ।

खेलको ५१ औँ मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ५७ औँ मिनेटमा टुरानले गोल गर्दै खेललाई ६-० को स्थितिमा पुर्‍याए ।

जितसँगै बार्सिलोना ७५ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको ६७ अंक छ ।


  •  
  •  
  •