लिभरपुलमाथि बार्सिलोनाको शानदार जित

555
  •  
  •  
  •  

१९ वैशाख (एजेन्सी)- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि शानदार जित दर्ता गरेको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा कप्तान लियोनल मेस्सीले दुई गोल तथा लुइस स्वारेजले एक गोल गरेपछि पाहुना टोली लिभरपुल पराजित हुन पुगेको थियो । निकै नै रोमाञ्चक खेलमा २६औँ मिनेटमा जोर्डि अल्बाको पासमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफ १–० गोलले सकिएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्यो भने लिभरपुलको केहि राम्रा प्रहार बार्सिलोनाका किपरले रोके भने केहि प्रहार गोलपोष्ट बाधक बन्न पुग्यो ।

दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । ७५औँ मिनेटमा सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि मेस्सीले त्यसलाई सहजै गोल गरे र अग्रता दोब्बर पारे । त्यस्तै ८१औँ मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल गोल गर्नबाट चुकेको थियो ।

अब यी दुई टोली दोस्रो लेगको खेल ८ मे मा लिभरपुलको मैदान एन्फिल्डमा भिड्नेछन्।


  •  
  •  
  •