बार्सिलोनाको अपराजित यात्रा कायमै, डेपोर्टिभो लाकोरुना ४–० ले पराजित

293
  •  
  •  
  •  

पुस ३ – बार्सिलोनाले स्पेनिस ला लिगामा डेपोर्टिभो लाकोरुनालाई ४–० ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाको लिगमा अपराजित यात्रा १६ औँ खेल सम्म पुगेको छ । बार्सिलोनाले १३ खेलमा जित र तिन खेलमा बराबरि खेलको छ । यस्तै साबिक विजेता रियल म्याड्रिडसँगको ११ अंक अग्रता पनि कायम गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा डेपोर्टिभो लाकोरुनालाई ४–० गोलले पराजित गर्ने क्रममा लुइस स्वारेज र पाउलिन्होले समान २–२ गोल गरे ।
खेलको २९ मिनेटमा लिओनल मेसीको पासमा गोल गरेर स्वारेजले बार्सिलोनालाई अग्रता दिलाए। ४१ औँ मिनेटमा मेस्सीले प्रहार गरेको बल गोल पोष्टमा लागेर फर्केको बललाई सदुपयोग गर्दै पाउलिन्होले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफको दोस्रो मिनेटमा नै सुआरेजले दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो। ७५ मिनेटमा जोर्डी अल्भाको पासमा पाउलिन्होले अर्को गोल गरेपछि बार्सिलोनाको फराकिलो जित सनिश्चित भयो ।
यस खेलमा लियोनल मेस्सीले दुई गोलको लागि सहयोग गरे पनि आफूले गोल गर्नेमा भने दुर्भाग्य सावित भएको छ । खेलमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्न त सकेनन् सकेनन् तर उनका तीन वटा प्रहार गोल पोष्टमा लागेका थिए । मेस्सीको पेनाल्टी भने गोलकिपरले रोकेका थिए ।

जितपछि बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३६ र तेस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ। एक खेल कम खेलेको रियल ३१ अंक जोडेर चौथो स्थानमा छ।


  •  
  •  
  •