२८ पुस (एजेन्सी) : बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन एथलेटिको मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले डिफेन्डिङ च्याम्पियन एथ्लेटीको मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा नेयमारले १२औं मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मेस्सीको पासमा स्वरेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
एथ्लेटीकोका लागि ५७औं मिनेटमा पेनाल्टीमार्फत मारियो मान्जुकिजले गोल गरे । तर, खेलको ८७औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो । खेलमा बार्सिलोनाका स्टारहरु मेस्सी र स्वारेजले पहेलो कार्ड पाएका थिए ।
जितपछि बार्सिलोना १८ खेलबाट ४१ अंक साथ दोस्रो स्थानमा कायमै छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल म्याड्रिडको ४२ अंक छ भने तेस्रो स्थानको एथलेटिकोको ३८ अंक छ ।
यता, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा हार बेहोरेको छ । गएरातिको खेलमा साउथ ह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएपछि म्यानु लिगमा चौथो स्थानमा झर्न बाध्य भयो । खेलको ६९औं मिनेटमा डुसान टडिकले गरेको एकमात्र गोल खेलमा निर्णायक साबित भयो ।