‘म्याजिकल लेडी’ को अन्त्येष्टि

178
  •  
  •  
  •  

काठमाडौं १४ बैशाख ।
राजा महेन्द्रले २०१७ पुस १ मा शाही ‘कु’ गरेका थिए । त्यसको दुई महिनापछि फागुनमा बेलायती राजकुमारी एलिजावेथ द्वितीयको नेपाल भ्रमण भएको थियो । उक्त ६० सदस्यीय भ्रमण टोलीमा एक लक्का जवान सुन्दरी पत्रकार पनि थिइन् । रोमबाट इटालियन पत्रिकाका लागि रिपोर्टिङ गर्न नेपाल आएकी ती युवती भ्रमण टोली फर्किए पनि फर्किइनन् । उनी थिइन्, अमेरिकी नागरिक बारबरा एडम्स ।

नेपाल पञ्चायत व्यवस्था, बहुदल र लोकतन्त्र हुँदै गणतन्त्रमा पुग्दासम्म सुन्दरी बारबरा बुढी भइसकेकी थिइन् । शरीर वृद्ध भए पनि बारबराको नेपाल प्रेम सधंै तरुण नै रहिरह्यो । नेपाल, यहाँको समाज र परिवर्तनलाई नजिकबाट अवलोकन गरेकी बारबराको ८५ वर्षको उमेरमा शुक्रबार (वैशाख १०) मा मृत्यु भयो । जन्मँदा अमेरिकी र मृत्यु हुँदा नेपाली नागरिक रहेकी बारबरालाई उनकै इच्छाअनुसार सोमबार हिन्दु संस्कारमा पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि बिहान उनको पार्थिव शरीरलाई कमलादीस्थित डबलीमा राखिएको थियो । बारबराको सिरानीमा उनले लामो संघर्षबाट २०६५ सालमा नेपाल सरकारबाट पाएको नेपाली नागरिकताको फोटोकपी थियो । श्रद्धाञ्जलि दिन अमेरिकी ‘डायस्पोरा’ का मान्छेसहित उनलाई यहाँ नजिकबाट चिन्ने व्यक्तित्व र विभिन्न पार्टीका नेता र केही मन्त्रीहरू आए । महेन्द्रका कान्छा भाइ बसुन्धराको प्रेमिकाका रूपमा चिनिएकी बारबरा नेपाली र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै परिचित छिन् ।

डबलीमा भेटिएका नागरिक अगुवा देवेन्द्रराज पाण्डे र शिक्षाविद् केदारभक्त माथेमा अघि लडिरहेकी बारबरालाई भावुक हुँदै सम्झिरहेका थिए । ५० वर्षअघि परिचित पाण्डे बारबरालाई ‘ट्रु नेपाली लेजेन्ड’ मान्छन् । आफ्नो पीडालाई थाम्न नसकी आँखाबाट आँसु झार्दै उनले थपे, ‘जहिले पनि नेपाल र नेपालीको हितमा काम गरिरहिन् ।’ उनले बारबरालाई म्याजिक लेडीको संज्ञा दिए । शिक्षाविद् माथेमाले भने, ‘ऊ (बारबरा) जस्तो कोही नेपाली छ जस्तो मलाई लाग्दैन । उनले आफूलाई कहिल्यै पनि विदेशी भन्ठानिन् ।’ माथेमा बारबराले नेपाली समाज, संस्कृति, सम्पदालगायत सम्पूर्ण क्षेत्रलाई विदेशमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘कोही नेपालबाट राजदूत हुन जाँदै छ भने उनीसँग प्रशिक्षण गराएर पठाउन उचित हुन्छ ।’

श्रद्धाञ्जलि सभामा उपस्थित पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफ्नो कार्यकालमा बारबरालाई नागरिकता दिन पाउँदा आफूलाई सबैभन्दा खुसी लागेको सम्झिए । उनले भने, ‘नेपालमै जन्मेर विदेशीको चाकडी र दलाली गर्नेभन्दा विदेशमा जन्मेर नेपालका लागि बारबराले गरेको योगदान अमूल्य छ ।’

नेपाल आएलगत्तै बारबरासँग पहिलो दिनबाटै परिचित प्रभाकरशमशेर जबराले नेपाललाई सधैं माया गर्ने व्यक्ति बिदा भएको बताए । २०४६ मा प्रजातन्त्र आएपछि पत्रकार हरिहर बिरहीले बारबराबारे लेखेका थिए । बिरहीले भने, ‘उनको भावनात्मक सम्बन्ध बसुन्धरासँग थियो, तर उनी नेपाललाई असाध्यै माया गर्थिन् ।’

नेपाल र नेपालीका लागि सधैं केही न केही गरौं भन्ने भावना राख्दै यहाँ कर्मभूमि बनाएकी बारबराले ‘बारबरा पिस फाउन्डेसन नेपाल’ को स्थापना गर्दै सुदूरपश्चिममा गरिबका लागि नि:शुल्क घर बनाइदिएकी छन् । उनले पत्रकारितामा ‘बारबरा अनुसन्धान पत्रकारिता अवार्ड’ को पनि स्थापना गरेकी छन् । कान्तिपुरबाट


  •  
  •  
  •