ओबामाको युरोप योजना सार्वजनिक

339
  •  
  •  
  •  

काठमाडौं २१ जेठ (ओएनएस) :
पूर्वी युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यका साथ राष्ट्रपति बाराक ओबामाले एक अर्ब डलर बराबरको योजना सार्वजनिक गरेका छन्। पोल्याण्डबाट शुरु भएको उनको भ्रमणका क्रममा छिमेकी युक्रेनको संकटको विषय हावी हुने अपेक्षा गरिएको छ। उक्त क्षेत्रको सुरक्षासम्बन्धी अमेरिकी प्रतिवद्धतालाई ओबामाले प्रधान महत्वको विषयको रुपमा व्याख्या गरेका छन्।
कंग्रेसबाट अनुमोदित हुनुपर्ने ओबामाको उक्त प्रस्तावअनुसार युरोपमा खटाइने अमेरिकी सेनाको संख्या र अभ्यासमा बढोत्तरी गरिने छ।
पोल्याण्डका राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै ओबामाले उनकै शब्दमा पूर्वी युक्रेनमा लडाकु र हतियार पठाउने कार्य रोक्न रुसलाई आग्रह गरे।
ओबामाले युरोपमा खटाइने अमेरिकी सेनाको संख्या बढाउनका लागि एक अर्ब डलर बराबरको योजना घोषणा गरेका हुन्। युक्रेनी संकटबारे उत्तर अटलान्टिक सन्धी संगठन नेटोका नेताहरुसँग भेटवार्ता गर्ने बताइएका ओबामाले अमेरिकाका युरोपेली सहयोगी मुलुकहरुको सुरक्षाको विषय अति महत्वपूर्ण भएको बताए।
उनले भने, ‘यहाँ युरोपमा रहेका नेटोका हाम्रा सहयोगी मुलुकहरुको सुरक्षा सुदृढ गर्ने नयाँ पहलको आज म घोषणा गर्दैछु। यो प्रयासअन्तर्गत र कंग्रेसको समर्थनबाट अमेरिकाले युरोपमा थप उपकरणहरु तैनाथ गर्नेछ। हामीले हाम्रा अभ्यास र सहयोगी मुलुकहरुसँग हाम्रा सैनिकहरुको तयारी अवस्थालाई बढाउनेछौं।’
रुससँगको तनावबीच गत अप्रिलमा अमेरिकाले अभ्यासका लागि आफ्ना १ सय ५० जना सैनिक पोल्याण्ड पठाएको थियो।
भ्रमणका क्रममा ओबामा बेल्जियम र फ्रान्स पनि जाने कार्यक्रम छ। यसैबीच युक्रेनमाथि रुसी कदमले पार्ने दीर्घकालीन सुरक्षा प्रभाव बारे छलफल गर्नका लागि नेटोका रक्षा मन्त्रीहरुको ब्रसेल्समा बैठक हुने भएको छ।

  •  
  •  
  •