बहुविवाह गरे बार सदस्यबाटै वञ्चित

76
  •  
  •  
  •  

काठमाडौं, १० असोज : नेपाल बार एसोसिएसनले बहुविवाह गर्ने अधिवक्ताको सदस्यता नरहने गरी विधान संशोधन गरेको छ ।
बारको ४३ औ साधारणसभाले गुपचुपमा संशोधन गरेको विधानमा बहुविवाह गरेका, डाका, चोरी, हत्या, बलात्कार किर्ते जालसाँजीलगायतका अभियोगमा अदालतबाट सजाय पाएकाको समेत सदस्यता नरहने प्रावधान उल्लेख छ ।

यो निर्णयसँगै बहुविवाह गरेका र फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका व्यक्तिको सदस्यता धरापमा पर्ने देखिएको छ । बार विधान संशोधनसँगै बहुविवाह गर्ने महिला कानुन व्यवसायीको सदस्यता ‘के हुने भन्ने ?’ बारे भने अन्योल छाएको छ ।

सदस्यता शुद्धीकरण अभियानअन्तर्गत यस्तो निर्णय गरेको बार महासचिव सुनीलकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार विधानअनुसार यी अभियोगमा अदालतबाट सजाय पाएकाले सदस्यता नपाउने भए पनि नैतिक रुपले बहुविवाह गर्नेलाई सदस्य लिन र नवीकरण गर्न भने अफ्ठ्यारो पर्नेछ ।

बहुविवाह गर्ने सदस्यता नदिने विधान पारितसँगै बारले ‘केन्द्रीय समिति समावेशी बनाउन’ भन्दै २५ सदस्यीय बनाउने भएको छ । १७ सदस्यीय हालको केन्द्रीय समिति विस्तार गरी उसले दुई उपाध्यक्ष थप्ने गरी विधान संशोधन गरेको छ ।

राजधानी दैनिकबाट 


  •  
  •  
  •