बारले न्यायाधीशका आकांक्षीलाई न्यायपरिषदमा नपठाउने

126
  •  
  •  
  •  

nepal bar associationकाठमाडौ, ८ माघ(ओएनएस) : नेपाल बार एसोसिएसनले न्यायाधीशका आकांक्षी र दाबेदारलाई न्यायपरिषद सदस्यमा नपठाउने भएको छ । बार केन्द्रीय कार्यसमितिको बैठकले न्यायपरिषद सदस्यका लागि कुनै व्यक्तिको नाम सिफारिस नगरे पनि केही सैद्धान्तिक आधार भने तय गरेको छ ।

न्यायाधीशका आकांक्षी नपठाउने, वरिष्ठ हुनुपर्ने, बार र न्यायपालिकाको साख र प्रतिष्ठा उच्च राख्न सक्ने व्यक्तिलाई पठाउनेमा एक मत भएको बार उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । आगामी बैठक २६ गते बस्ने उनले बताए ।

स्रोतअनुसार, संविधान जारी गर्ने समय नजिकै आएको, नयाँ संविधानले न्यायपरिषदको भूमिका पुनःपरिभाषित गर्न सक्ने भएकाले पनि सिफारिस गर्न हतार नगरौँ भनेर न्यायपरिषदको एजेन्डा टुंग्याइएको थियो । राजनीतिक रुपमा दुई पक्षमा बाँडिएको नेपाल बारमा कसैको प्रस्तावमा पनि सहमति हुन नसक्ने भएपछि बारले न्यायपरिषद सदस्य सिफारिस गर्न सकेको छैन ।

न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि नयाँ सदस्य बारले सिफारिस गर्नुपर्छ । बारले सदस्य सिफारिस गर्न ढिलाइ गरेपछि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ । सर्वोच्चमा न्यायाधीश अभावका कारण मुद्दाको पालो आउन महिनौँ पर्खिनुपर्ने अवस्था छ ।


  •  
  •  
  •