नेपाल बारको निर्वाचन सकियो, मतगणना सोमबार

300
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।

देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।
अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् ।

निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

प्रमुख निर्वाचन अधिकृत खड्काका अनुसार सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८ सय ४३ मत खसेको छ । उनका अनुसार सर्वोच्च वारमा ६ सय ४४, उच्चवारमा एक हजार ६ सय ८८, काठमाडौंमा एक हजार ५ सय ८० र ललितपुर वारको ५ सय २ र भक्तपुर तथा नाम सारिएका ४ सय २९ मत खसेका छन् । देशभरिबाट मतपेटिका संकलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडौंमा मतगणना हुनेछ ।


  •  
  •  
  •