वन पैदावरको वैज्ञानिक व्यवस्थापन आवश्यकः अध्यक्ष दाहाल

62
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वनले गरेको अभ्यास समाजवादकै अभ्यास भएको स्पष्ट पारेका छन् ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा काठमाडौंमा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘संविधान बन्नपूर्व सामुदायिक वनले गरेको अभ्यास भनेको समाजवादकै अभ्यास हो । त्यसैले सामुदायिक वनको अनुभव राजनीतिक नेतृत्वलाई पनि धेरै महत्वपूर्ण छ ।’

देशमा राजनीतिक प्रणालीलाई सुदृढ गर्न सामुदायिक वनको, सामुदायिक वन उपभोत्ता संघको, सामुदायिक वन उपभोक्ता महासंघ र यससँग सम्बन्धित सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘सामुदायिक वन जसरी नेपाल अगाडि बढ्दै गएको छ । यो प्रणालिलाई नेपालले मात्र नभई विश्व समुदायलाई पनि सफल प्रयोग र उदाहरणको रुपमा लिएको छ । धेरैले नेपालबाट सिक्ने बन, व्यवस्थापन, वन संरक्षणबाट वातावरणीय सन्तुलन र समुदायिको समग्रहितलाई अगाडि राखेर यो अगाडि बढेको छ ।’

अध्यक्ष दाहालले स्थानीय तहमा जनताको नेतृत्व निर्माण गर्ने प्रक्रियामा सामुदायिक वनको माध्यमबाट हजारौँ र लाखौं नेता एवं नेत्वत्व निर्माण गर्ने काम समेत सामुदायिक वनले गरेको बताए ।

वन प्रदावरलाई कसरी परिचालन गर्ने भन्ने विषयमा बैज्ञानिक प्रणालीको विकास गर्न बाँकी रहेको अध्यक्ष दाहालले बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले कम्युनिष्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताए ।
उनले भने, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’
उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको बताए ।

सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको उनको भनाई थियो । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ, ’ अध्यक्ष दाहालले भने ।

उनले अहिले हामी ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउँदै अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पारे ।

उनले सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्न अपील गरे ।

‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन । हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, ’ उनले भने ।


  •  
  •  
  •