२० लाख लुटिएको घटनामा बैंक कर्मचारीको संलग्नताको आशंका

213
  •  
  •  
  •  

काठमाडौं, ३ मंसिर (ओएनएस) : चन्द्रनिगाहपुरमा बैंक गेटबाट २० लाख रुपैयाँ लुटिएको घट्नामा प्रहरीले बैंक कर्मचारीको संलग्नता हुनसक्ने शंका गर्दै इन्फ्रास्टक्चर बैंकका कर्मचारी शम्भु थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

लुटेरालाई सूचना दिएको आशंकामा बैंक कर्मचारी थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक(एसपी)सानुबाबु थपलियाले बताए । सोधखोजको क्रम जारी नै रहेको उनले जानकारी दिए ।

लुट्ने योजना एक महिना पहिलेदेखि बनाएको खुल्न आएको उनले जानकारी दिए । ‘बैंकको पैसा लिन जाने र ल्याउने समय बारे उनीहरुलाई बैंकका कर्मचारीबाट सूचना प्राप्त भएको शंका छ’ उनले भने । त्यसैले बैंकको कर्मचारीलाई पनि अनुसन्धानको दायारमा राखेका छौं ।’

मंगलवार दिउँसो १२ बजे इन्फ्रस्टक्चरका सहायक प्रवन्धक उज्जवल रिजाल र सुरक्षागार्ड तेजबहादुर कार्कीले एसविआई बैंकबाट रकम निकालेका थिए । त्यसको लगतै लुटेराहरुले गोली चलाएर उनीहरुमाथि आक्रमण गरी सो रकम लुटेका हुन् । गोली लागेर गार्ड कार्की घाइते भएका छन् ।

प्रहरीले पक्राउ परेको नारायण राईको खल्तीबाट फेला परेको कागजातबाट अनुसन्धान थालेको छ । पेटमा गोली लागेर गम्भीर घाइते रहेका राई बोल्न सक्ने अवस्थामा छैनन । उनको उपचार बीरगंजमा भइरहेको छ ।

यससँगै चन्द्रगिाहपुरमा रहेको रोमियो एण्ड जुलियट होटलमा बसेर हतियारधारी समुहले बैकको रकम लुट्ने योजना बनाएको खुलेको छ । रकम लुट्न माओवादीका पुर्व लडाकुको समूहले एक महिना लगाएर योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लुटेरा समूह बसेको होटलबाट समेत प्रहरीले महत्वपूर्ण सूचना र सामान बरामद गरेको छ ।


  •  
  •  
  •