एपेक्स बैंक घोटाला प्रकरण : नागरिक लगानी कोषका कर्मचारी पक्राउ

725
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटाला गरेकाे अाराेपमा प्रहरीले गत शुक्रबार १३ जनालार्इ पक्राउ गरेकाे थियाे। अनुसन्धानकाे क्रममा बैँक घाेटाला प्रकरणमा संलग्न रहेकाे भन्दै थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन सञ्चालक छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो।

उनी पछिल्लो समय नागरिक लगानी कोषमा कार्यरत थिए। बैंकको सञ्चालकबाट हटेपछि उनी कोषको जागिरे बनेका थिए। उनको समेत मिलेमतोमा एपेक्समा घोटाला भएको प्रहरीले जनाएको छ। 

अनुसन्धानकाे लागि सात दिन थुनामा राख्न म्याद थप

सिआइबीले बैंकिङ घोटालाको आरोपमा शुक्रबार एपेक्स बैंकका १३ जनालाई पक्राउ गरेको थियो। पुनरावेदन अदालत पाटनले पक्राउ परेकाहरुलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार म्याद थप गरेकाे छ। एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।

सञ्चालक तथा कर्मचारीको मिलेमतोमा कमसल धितो राख्नुका साथै झुठा ऋणी खाडा गरी कर्जा प्रवाह गरेर करिब डेढ अर्ब घोटाला गरेको राष्ट्र बैंकको अनुसन्धानमा खुलेपछि प्रहरीले अनुसन्धान थालेको सिआइबीका डिएसपी श्याम ओलीयाले बताए।

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेललाई पक्राउ परेका थिए।


  •  
  •  
  •