‘१२ बैंक निगरानीमा’

222
  •  
  •  
  •  

काठमाडौं १८ जेठ ।
निक्षेपकर्ताको पैसा डुब्ने डरहुन्जेल वित्तीय संस्थाले जनताको मन जित्न नसक्ने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् ।

कैलाश विकास बैंक र मेट्रो डेभलपमेन्ट बैंक तथा नेपाल एक्सप्रेस फाइनान्सको मर्जपछि एकीकृत कारोबार शुभारम्भका अवसरमा सोमबार पोखरामा गभर्नरले यस्तो बताएका हुन् । संयुक्त कारोबार शुभारम्भ गर्दै उनले भने ‘दिनदिनै मान्छेहरू हाम्रो पैसा बैंकले डुबायो । बचाउ बचाउ भनेर राष्ट्र बैंकमा गुहार लाउन आउने स्थिति सुखद होइन ।’ हाल १२ वटा समस्याग्रस्त वित्तीय संस्था राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा रहेको उनले बताए ।

‘बैंकहरूले ग्राहकलाई निक्षेप सुरक्षाको प्रत्याभूति र उद्यम गर्न प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘केही बैंकहरूको अवस्थाले ग्राहकमा राम्रो छाप परेको छैन ।’ एउटा ठूलो सडक वा उद्यमका लागि लगानी जुटाउनुपर्दा मुलुकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष वा एसियाली विकास बैंकलाई गुहार्नुपर्ने अवस्था अन्त्य गर्न राष्ट्र बैंकले पुँजी वृद्धि अनिवार्यता गरेको उनले बताए । ‘ठूला प्रोजेक्टमा हाम्रै बैंकले लगानी गर्न सक्ने अवस्था आउनुपर्छ,’ उनले भने, ‘हामी कहिलेसम्म विदेशी सहयोगको मुख ताक्ने ?’ लगानी बढाउने बैंकले वित्तीय सुशासन कायम गरेर अघि बढे कारोबार वृद्धिसँगै जनताले प्रत्यक्ष लाभ पाउने उनले बताए ।

अझै पनि सुदूरपश्चिमका विभिन्न जिल्लामा देशका ठूला वाणिज्य बैंकको सेवा विस्तार हुन नसक्नु दु:खद रहेको उनको भनाइ छ । सरकारले बजेटमार्फत सबै जनताको आआफ्नो बैंक खाता हुनुपर्ने घोषणालाई सघाउन वित्तीय संस्थाको भूमिका आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा कैलाश विकास बैंकका प्रमुख कार्यकारी कृष्णराज लामिछानेले १४ अर्ब ३३ करोड निक्षेप पुर्‍याएको आफ्नो संस्थाले राष्ट्र बैंकको पुँजी वृद्धिको मापदण्डलाई समय छँदै पूरा गर्ने बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •