लुटपाटमा नेतासहितको गिरोह

469
  •  
  •  
  •  

काठमाडौं १७ मंसिर ।

लुटपाटमा संलग्न पूर्वलडाकुका बयानले संगठित रूपमा आपराधिक सञ्जाल विस्तार हुँदै गएको खुलेको छ। बैंक लुटपाटमा दुई दिनअगाडि सार्वजनिक भएका पूर्वलडाकुहरू नेकपा-माओवादीका कार्यकर्ता भएको र हाल नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीमा आबद्ध पाइएका छन्।

यार्चागु बा लुटपाटमा संलग्न पूर्वलडाकुहरू एमाओवादीका केन्द्रीय नेता तथा पूर्वकमान्डर कालीबहादुर खामको सञ्जालमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पश्चिम क्षेत्रमा भएका शृंखलाबद्ध आपराधिक घटनामा लडाकुको संलग्नतापछि प्रहरीले उनको सञ्जालबारे अनुसन्धान गरेको थियो।

कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामा बैंक लुट्ने लडाकु नेकपा माओवादीसँग आबद्ध रहेको बयान दिएको बताए। त्यसैगरी मनाङका प्रहरी प्रमुख डीएसपी राजेन्द्रबाबु रेग्मीले पक्राउ परेका सबै माओवादीका पूर्वलडाकु रहेको पाइएको बताए। रेग्मीले भने, ‘यिनका नेता खामलाई पनि फरारको सूचीमा राखिएको छ।’

पोखराको न्युरोडस्थित यती डेभलपमेन्ट र रौतहटको एसबीआई बैंक लुट्न संलग्न भएको अभियोगमा पक्राउ परेका पूर्वलडाकुले दिएको बयानका आधारमा प्रहरीले गरेको अनुसन्धानबाट पूर्वलडाकु संगठित अपराधमा संलग्न रहेको खुलेको हो।

लुटपाट गर्नेमा चन्द्रनिगाहपुर-१ का सुशीलकुमार दुलाल, रोल्पा घोडागाउँ-१ का विकल्प भनिने विजय केसी, रुकुम घर भई हाल दाङ बस्ने वसन्त गिरी, सिन्धुली पीपलमाडी-१ का नारायण राई, सल्यानका उज्ज्वल रोकाय क्षेत्री, कुशल तामाङ र विमल क्षेत्री छन्।

दुलालले सशस्त्र द्वन्द्वका बेला भूमिगत भई मेडिकल टिममा काम गरेका थिए। दुलालले आफूहरू नेकपा-माओवादीसँग नजिक रहेको बयान दिएको कास्की प्रहरी प्रमुखले बताए। प्रहरी उच्च स्रोतका अनुसार पोखराको न्युरोडस्थित यती डेभलपमेन्ट र रौतहटको एसबीआई बैंक लुट्ने पूर्वलडाकु नेकपा माओवादी निकट देखिएका छन्।

दुलाल समूहले २०७० कात्तिकमा चितवनस्थित नेपाल विद्युत् प्राधिकरणको काउन्टरबाट प्रहरीको नक्कली कार्ड देखाएर १२ लाख रुपैयाँ लुटेको थियो। दुलाल समूहमा रहेका विजय केसी लालसलाम नामक चलचित्रका कलाकारसमेत हुन्।

उनीहरूको समूहमा सेनामा अयोग्य भएका पूर्वलडाकु छन्। केसी चन्द समूहसँग नजिक छन्। दुलालबाट बरामद भएको जर्मनीमा बनेको पेस्तोल उच्च गुणस्तरको हतियार हो। नेपाल प्रहरीसँग पनि त्यो हतियार भर्खरैमात्रै आएको स्रोतले बतायो।

आपराधिक गतिविधिमा संलग्न लडाकुमध्ये नेपाली सेनामा समायोजना हुन अयोग्य भएका, पैसा लिएर स्वेच्छिक अवकाश लिएका र द्वन्द्वकालमा सुराकीको काम गरेका बढी छन्। हतियार देखाएर रकम असुल्नेदेखि लुटपाटसम्म गर्दै आएका पूर्वलडाकुले केही स्थानमा गोलीसमेत चलाएका छन्।

‘आपराधिक गतिविधिमा लागेका पूर्वलडाकु सुरक्षाका लागि ठूलो चुनौती बनिरहेका छन्’, पूर्वगृहसचिव उमेश मैनालीले भने, ‘ठूलो सपना देखेर युद्धमा होमिएका हुन्छन्। त्यो पूरा नभएपछि हतियार चलाउने दक्षता प्रयोग गरेर आपराधिक गतिविधिमा संलग्न हुने गरेको देखिएको छ।’

गत साउन १ गते मनाङस्थित सीमा प्रहरीचौकी धारापानीले ग२च ३०१ नम्बरको बेलेरो जिप जाँच गर्दा स्वचालित हतियार एके-४७ सहित तीन पूर्वलडाकु पक्राउ परेका थिए। पक्राउ पर्नेमा स्वेच्छिक अवकाश लिएका पूर्वलडाकु रुकुम हुकाम-९ का नवीनकुमार रोक्का, द्वन्द्वकालमा सुराकीको काम गरेका जाङ-९ का उजिर रोक्कामगर र कुलबहादुर रोक्कामगर हुन्।

‘यार्सा लुट्ने योजनामा अत्याधुनिक हतियारसहित मनाङ आएका रहेछन्’, मनाङ प्रहरी प्रमुख रेग्मीले भने, ‘उनीहरू सबै माओवादीका पूर्वलडाकु पाइयो।’ उनीहरूले प्रयोग गरेको एके-४७ हतियार २०६० सालमा म्याग्दी आक्रमणका बेला सेनाबाट लुटिएको हो।

प्रहरी स्रोतका अनुसार पूर्वलडाकुले २०७० साउनमा डोल्पामा एके-४७ फायर गरेर यार्सागुम्बाका व्यापारीबाट दुई करोड ८० लाख रुपैयाँ र २०६८ जेठमा डोल्पामै व्यापारीबाट तीन करोड रुपैयाँ पर्ने यार्सा लुटेका थिए। त्यहाँ उनीहरूले इन्साससमेत प्रयोग गरेका थिए। त्यसमा रुकुमका संगम रोक्का, विश्वास पुन र फलबहादुर पुन संलग्न थिए। यी सबै पूर्वलडाकु हुन्।

संगमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०६१ साउन ९ गते काठमाडौंबाट एम-१६ हतियारसहित पक्राउ गरेको थियो। यही समूहले २०७० साउन २० गते डोल्पाको सुम्देमा एम-१६ हतियार देखाएर चीनबाट यार्सागुम्बा बिक्री गरेर फर्केका २५ जनालाई नियन्त्रणमा लिएर ६ करोड ३९ लाख रुपैयाँ लुटेको थियो।  अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •