बैंकको ब्याज एक प्रतिशत

206
  •  
  •  
  •  

काठमाडौं ७ माघ ।

बैंकमा अत्यधिक पैसा थुप्रिएपछि र त्यो अनुपातमा कर्जा नगएपछि साधारण निक्षेपको ब्याज अहिलेसम्मकै न्यून एक प्रतिशतमा झरेको छ। लगातार घट्दै गएको निक्षेप ब्याजदरले बैंकमा पैसा राख्दा ब्याजमार्फत अन्त्यन्त न्यून रकम प्राप्त हुने भएको छ।नेपाल राष्ट्रबैंकका पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी निक्षेपको ब्याजदर यसरी ओरालो लाग्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँछन्।

 ‘विकसित देशमा निक्षेपको ब्याजदर एक प्रतिशत हुनु तथा कर्जाको दुई प्रतिशतदेखि पाउनु नौलो कुरा होइन’, अधिकारीले भने, ‘हाम्रो अर्थतन्त्र पनि सानो हुँदा निक्षेपको ब्याजदर तल झर्दा अरू समस्या सिर्जना हुन्छन्।’ उनी यसरी निक्षेपको ब्याजदर तल झर्दा पुँजी पलायन हुनसक्ने खतरा आउन सक्ने बताउँछन्।
‘पछिल्लो समय सेयर बजार बढ्नुको एउटा कारणमा निक्षेपमा पाएको न्यून ब्याजदर पनि हो’, अधिकारीले भने।नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष अशोक राणा बैंकमा अत्यधिक लगानीयोग्य रकम भएका कारण निक्षेपमा न्यून ब्याजदर दिनुपरेको बताउँछन्।
‘एक प्रतिशतभन्दा तल भने ब्याजदर झर्ने छैन। निक्षेपमा न्यूनतम ब्याजदरको अन्तिम बिन्दु पनि यही हो’, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका राणाले भने।
भारतीय नाकाबन्दीपछि बैंकहरूमा कर्जामा अघिल्लो वर्षमा जस्तो माग छैन । विदेशबाट आउने रेमिटेन्स बढ्दै गएको तथा कर्जाको माग नभएका कारण बैंकहरूसँग पर्याप्त पैसा छ । यसले गर्दा बैंकहरूले निक्षेपको ब्याजदर अहिलेसम्मकै न्यून एक प्रतिशतमा झारेका हुन्।
अहिले साधारण निक्षेपमा एक प्रतिशत ब्याजदर झारेको घोषणा गर्ने बैंकमा हिमालयन र ग्लोबल आइएमई छन् । अरू बैंकको पनि साधारण निक्षेपमा दुर्ई प्रतिशतभन्दा बढी ब्याजदर दिएका छैनन् । एकवर्षे मुद्दती निक्षेपको ब्याजदर चार प्रतिशतमा झरेको छ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल कर्जाको माग नहुनु तथा पैसा थुप्रिनुले ब्याजदर घट्नु स्वभाविक भएको बताउँछन्।बैंक तथा वित्तीय संस्थामा कर्जाको माग आयातमा आधारित क्षेत्रमा बढी हुने गरेको छ।
सामान आयात गर्न दिने कर्जा र त्यो खरिदका लागि दिने कर्जाको अनुपात बढी छ। तर भारतीय नाकाबन्दीपछि नेपालको आयात व्यापार खस्केको छ भने सामान नआएका कारण उपभोक्तालाई त्यस्ता सामग्री खरिदमा दिने कर्जामा माग छैन।
 बैंकहरुले निक्षेपको ब्‍याजदर अत्‍यधिक तल झारे पनि कर्जाको ब्‍याजदर भने घटाएका छैनन्। 
राष्ट्रबैंकका अनुसार मंसिर अन्तिम सातासम्म ३० वटा वाणिज्य बैंकसँग विदेशी मुद्रामा भएको निक्षेपसहित १५ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप छ। यस्तै कर्जा ११ खर्ब ५६ अर्ब रुपैयाँ छ । राष्ट्रबैंकले बनाएको नियमअनुसार नै बैंकहरूसँग भएको निक्षेपका आधारमा एक खर्बभन्दा बढी रकम कर्जा दिन सक्ने अवस्था छ।
बैंकहरूले निक्षेपको ब्याजदर अत्यधिक तल झारे पनि कर्जाको ब्याजदर भने नघटाएको गुनासो ऋणीहरूको छ। खासगरी पुरानो ऋणको ब्याजदर अहिले पनि घटेको छैन। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल निक्षेपको तुलनामा कर्जाको ब्याजदर घटिरहेको बताउँछन्।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •