बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ : अर्थमन्त्री

133
  •  
  •  
  •  

विराटनगर, ६ वैशाख(ओएनएस) : अर्थमन्त्री डा. युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा शुक्रबार आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ । व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’

उनले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिए । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ऋणि सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने नौ जनालाई १० लाखदेखि १५ लाख रुपैयाँसम्मको कर्जा वितरण गरिएको छ ।


  •  
  •  
  •