जोखिममा बैंक तथा वित्तीय संस्था

111
  •  
  •  
  •  

नेपालमा वित्तीय प्रणालीको विवेचना गर्दा बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष, बचत तथा ऋण सहकारी संस्था, हुलाक बचत बैंक, सिद्धार्थ बचतकोष, लगानी कम्पनीहरु र नेपाल स्टक एक्सचेन्जलाइ समेट्नुपर्ने हुन्छ ।

वित्तीय प्रणालीभित्र आवद्ध संस्थाहरुले कुनै न कुनै रुपमा सर्वसाधारण जनतामा छरिएर रहेको रकमलाई एकत्रित गरी उक्त रकमको परिचालन गरि आफ्नो व्यवसाय सञ्चालन गरिरहेका हुन्छन् । उल्लेखित संस्थाहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले बजारको ठूलो हिस्सा ओगटेको पाइन्छ ।

फस्टाउँदै गएको वर्तमान वित्तीय संरचना एकातिर छ भने अर्को तिर वित्तीय स्थिरताको सवाल पनि त्यत्तिकै महत्वपूर्ण छ । सर्वसाधारणको निक्षेपको सुरक्षार्थ बैक तथा वित्तीय संस्थाहरुमा प्रयाप्त जोखिम व्यवस्थापन गराउन नेपाल राष्ट्र बैंकलाइ आवश्यक अख्तियारी दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बचतकर्ता र ऋणीहरुबीच जोखिम, बचतको स्तर भुक्तानी अवधी, हस्तान्तरण र मुद्राको मधयस्थताको कार्य गर्दछन् ।

यस्ता संस्थाहरुले सामान्यतया जोखिम बहन गर्न नरुचाउने बचतकर्ताहरुसँग रहेको बचत संकलन गरी ठूला कर्जा सिर्जना गरि कर्जा र बजार जोखिम, छोटो अवधीको दायित्वबाट दिर्घकालीन सम्पत्ती सृजना गरी व्याजदर तथा तरलता जोखिम ,एक थरि मुद्रा सापट लिई अर्को थरि मुद्रा भुक्तानी दिई विदेशी विनिमय जोखिम बहन गरिरहेका हुन्छन् ।
यस्ता संस्थाहरुले यिनै जोखिमहरुको बीचमा नाफा आर्जन गरिरहेका हुन्छन् ।

तसर्थ नाफालाई जोखिम लिए बापतको पुरस्कार पनि भनिन्छ । बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्दा समग्र रुपमा जोखिमहरुको उचित व्यवस्थापन गरिएन भने संस्थाको नाफा प्रभावित त हुन्छ नै निक्षेपकर्ताहरुबाट संकलित रकम समेत सुरक्षित हुन सक्दैन ।

वित्तीय संस्थहरुले जति धेरै जोखिमका श्रोतहरुको पहिचान गर्न सकियो तिनको व्यवस्थापन पनि प्रभावकारी रुपमा गर्न सकिने हुन्छ ।

आर्थिक उदारीकरणको रहरसँगै फस्टाउँदै गएको वित्तीय संरचना एकातिर छ भने अर्को तिर त्यसको स्थिरताको सवाल पनि त्यत्तिकै महत्वपूर्ण छ । वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो ।

बजारका खेलाडी भनेका बैंक तथा वित्तिय संस्थाहरु नै हुन् । आर्थिक विकासको लागी आवश्यक तरलता प्रवाह गर्ने, अर्थतन्त्रको बचत हुने क्षेत्रमा रहेको वित्तिय साधनहरुलाइ आवश्यक हुने क्षेत्रहरुमा प्रवाह गर्ने हुनाले यिनीहरुको भुमिका महत्वपूर्ण मानिन्छ ।

यसका साथ साथै व्यवसायमा हुने अन्र्तनिहित जोखिमको कारण र बैंकिङ क्षेत्रको विश्वास गुम्न गएको अवस्थामा समग्र अर्थतन्त्र समेत नराम्रोसँग प्रभाव पर्न सक्ने हुनाले वित्तिय संस्थाहरुको नियमन निकायको रेखदेख रहनु आवश्यक हुन्छ । वित्तिय संस्थाको वासलातमा रहेको दायित्वको ठूलो अंश सर्वसाधारणको निक्षेप जसको भुक्तानी अवधी सामान्यतया तोकिएको हुँदैन । केहि अंश निश्चित अवधि तोकिएको हुन्छ ।

उक्त अवधि पश्चात भुक्तानी दिनुपर्ने हुन्छ । सम्पत्तिको ठूलो अंश कर्जा रहेको हुन्छ जुन अर्थतन्त्रमा आउने व्यापार चक्र, कर्जा लिनेको मनसाय, व्यवसायको सफलता आदिमा निर्भर रहन्छ ।

कर्जा नउठ्ने जोखीम, कर्जाको पोर्टफोलियो नमिल्दा कर्जा केन्द्रित जोखिम, वित्तिय कारोवारका क्रममा हुने सञ्चालन जोखिम, बैंकले दिने व्याज र लिने व्याजदरमा उतारचडाप हुँदा हुने व्याजदर जोखिम, विदेशी मुद्राको कारोवार गर्दा हुने विनिमय जोखिम, सम्पत्ति र दायित्वको उचित व्यवस्थापन गर्न नसक्दा हुने तरलता जोखिम लगायत यसका अलवा कम्प्लायन्स जोखिम, कानूनी जोखिम, प्रतिष्ठा जोखिमहरु रहेका हुन्छन् ।

यस्ता जोखिमहरु एक–एक गरेर तथा एकै पटक जोडिएर पनी आउन सक्छन् । वित्तिय कारोवार र जोखिम तत्व सँगसँगै हिँडेका हुन्छन् । जोखिम तत्वको उचित व्यवस्थापनपछि मात्रै नाफा आर्जन गर्न सकिन्छ ।

संस्थालाई दिर्घकालसम्म सवल रुपमा सञ्चालन गरी मूनाफा वृद्धि गर्नका लागी समयमा जोखिमको उचित व्यवस्थापन गर्न सक्नुपर्दछ ।

उचित ढंगबाट जोखिमको व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु देशको अर्थतन्त्रका लागि सहयोगी बन्न सक्छन् । यदि यसो भएन भने अर्थतन्त्र धरासयी भएर वित्तीय संकटको अवस्था सृजना हन्छ ।

यो अवस्थाको सृजना नहोस भनि नियमनकारी निकायबाट वित्तीय संस्थाहरुको क्रियाकलापहरुलाई कडाइका साथ निगरानी गरिरहेका हुन्छ । जोखिमको उचित व्यवस्थापनका लागी निर्देशन दिइरहेको देखिन्छ ।

यति हुँदाहुँदै पनि क्षणिक लाभका कारण गरिने अनियमित गतिविधिका कारण कतिपय वित्तीय संस्थाहरुले वित्तीय संकटको सामना गर्नु परेको देखिन्छ ।

वित्तीय संस्थाहरुले लिने जोखिम र तिनीहरुले प्राप्त गर्ने नाफाबीच सकारात्मक सम्बन्ध रहन्छ । जहाँ जोखिमको मात्रा बढि हुन्छ त्यहाँ प्रतिफल पनि बढि नै रहेको हुन्छ ।  कम जोखिमको सामना गर्दा प्रतिफल पनि कम नै हुन्छ ।
बैंक तथा वित्तीय संस्थाहरु अधिकतम नाफा आर्जन गर्न चाहन्छन् ।

किनकी उनिहरु पब्लिकको पैसामा व्यवसाय गरिरहँदा आवश्यकता caost of fund, Office overhead, staff expenses जस्ता न्युनतम् खर्च रकमको अलवा नाफा आर्जनतर्फ उन्मूख हुन्छन् । ताकी शेयरहोल्डरहरुलाई लाभांश साथै कर्मचारीहरुलाई वोनस समेत दिनुपर्ने हुन्छ ।

आजको प्रतिस्पर्धी वित्तीय बजारमा नियमनकारी निकायबाट पनि वित्तीय संस्थाहरुले बढि भन्दा बढि जोखिम लिई नाफा आर्जन गरुन् भन्ने चाहन्छन् ।

वित्तीय संस्थाहरु पनि नाफामूखी दृष्ट्रिकोणबाट अभिप्रेरित भइरहँदा अस्वास्थ्य प्रतिस्पर्धा भई वित्तीय संंस्थामा भएको नाफाको सम्बन्धको प्रभावकारिता अर्थतन्त्रमा परेको पाइदैन ।

जोखिम जस्तो संवेदनशिल विषयलाई नजरअन्दाज गर्ने गरेको, चुस्त कर्जा सूचना केन्द्रको अभाव, पेशेवर सञ्चालक समिति नहँदा जोखिम व्यवस्थापनमा ध्यान दिएको नपाइनु, राजनीतिक अवस्था अनुकुल नहुने कारणबाट वित्तीय संस्थाहरुले प्रकाशित गर्ने वित्तीय विवरणहरु कागजमा देखिए जस्तो यथार्थ परक छैनन् ।

जोखिम व्यवस्थापनको सन्दर्भमा सर्वसाधारणको निक्षेपको सुरक्षार्थ वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन गराउन नेपाल राष्ट्रबैंकलाई अख्तियारी दिइएको छ । जसअन्तर्गत नेपाल राष्ट्रबैंक ऐन‘२०५८’, बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन‘ २०६३’ ले बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन तथा मार्ग दर्शन दिन सक्ने अख्तियारी नेपाल राष्ट्रबैंकलाई दिएको छ भने वित्तीय संस्थाहरुले पनि पालना गर्नुपर्ने अन्यथा कारबाहीको भागीदार हुनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले जोखिम मापन तथा भोलिका दिनमा आउन सक्ने समस्याको अनुमान गर्न forward  looking analysis,Stress testing, Basel II Framework, Risk management Guidelines जारी गरेको छ ।

यसका अलवा स्वंय वित्तीय संस्थाभित्र समेत जोखिम कम गर्ने नीति नियम, म्यानुअल, सर्कुरल, लेखा परिक्षण विभाग, जोखिम व्यवस्थापन विभाग, कानून विभाग लगायत अन्य विभागहरु पनि व्यवस्था गरिएको हुन्छ ।  यति हुँदा हुँदै पनि वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापनको अवस्था जस्तो हुनुपथ्र्यो त्यो भएको पाइदैन ।

वित्तीय व्यवसायमा जोखिम ध्रुव सत्य हो । जोखिम कति र कुन तरिकाबाट बहन गर्ने भन्ने विषय फरक हुनसक्छ ।
जोखिम व्यवस्थापनको आधारशिला भनेको जोखिम इच्छाअनुसार वहन गर्नु पर्छ र जोखिम अपवादको रुपमा आउने नभइ निश्चित प्रायः हुन्छ ।

जोखिम वहन गरे वापतको पुरस्कार नाफा भएकोले जोखिम लिने पक्ष नै जोखिम व्यवस्थापक हो । आजको यो प्रतिस्पर्धी वित्तीय बजारमा निक्षेपकर्ताको निक्षेपको सुरक्षित गर्न, अर्थतन्त्रको विकास र विस्तारमा सहयोग गर्न, सामाजिक उत्तरदायित्व वहन गर्दै वातावरणको संरक्षण लागी सरकार तथा समाजसँग हातेमालो गर्दै कर्मचारीहरुलाई सेवा सुविधा, शेयरहोल्डरहरुलाई लाभांश वितरण गरी निरन्तर रुपमा संस्था संचालन गर्नु जोखिम व्यवस्थापनको सबल अवस्था मानिन्छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैंक मुख्य कार्यालय अन्तर्गत जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभागकी प्रमुख हुन् ।)


  •  
  •  
  •