काठमाडौं, १५ भदौं (ओएनएस) ; नेपाल वायुसेवा निगले १० वर्षपछि मंगलबारबाट भारतको बैंगलोर सहरमा उडान सुरु गरेको छ । निगमले २००६ मा बन्द गरेको काठमाडौं– बैंगलोर रुटमा मंगलबारबाट फेरि उडान भर्ने भएको हो ।
निगमले मंगलबार दिउँसो १२ः ४५ बजे काठमाडौंबाट बैंग्लोरका लागि पहिलो उडान भरेको हो । निगमले सेप्टेम्बर १६ बाट भारतको अर्को सहर मुम्बईमा पनि उडान सुरु गर्नेछ ।
बिदा मनाउन नेपाल आउन चाहने भारतीय पर्यटकका लागि लक्षित गरेर ती गन्तव्यमा उडान सुरु गरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
पहिलो उडानमा काठमाडौंबाट बैंगलोर जाने निगमको एयरबस ९० जना यात्रु लिएर गएको फर्कदा ३३ जना यात्रु लिएर फर्कनेछ । सुरुमा यात्रु संख्या केहि कम भएपनि विस्तारै बढ्दै जाने अपेक्षा निगमको छ ।
निगमले सस्तो दरमा टिकट दिएको छ । पहिलो एक महिनाका लागि सार्वजनिक गरिएको यो योजना अनुसार एकतर्फी टिकटको मूल्य सम्पूर्ण करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ ।
निगमले बैंगलोरमा हप्ताको दुई दिन मंगलबार र शनिबार उडान भर्नेछ भने मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्ने जनाएको छ । यस्तै यी रुटमा एक महिनाका लागि दुई वटा टिकट किन्दा एउटा सित्तैमा अफर पनि ल्याइएको छ ।