बंगलादेशमा जमातका प्रमुख निजामीलाई फाँसी

170
  •  
  •  
  •  

motiur-rahman-nijamiकाठमाडौँ, २९ बैशाख(एजेन्सी) : बंगलादेशको कट्टरपन्थी पार्टी जमात-ए-इस्लामीका प्रमुख मोतीउर रहमान निजामीलाई मंगलबार राती फाँसी दिइएको छ ।

७३ वर्षीय निजामी जमातका प्रमुख इस्लामी नेता हुन् । उनी सन् १९७१ मा पाकिस्तानविरूद्व बंगलादेशको मुक्ति संग्रामका क्रममा भएको वार क्राइमका दोषी थिए । जमात-ए-इस्लामीले यस फैसलाको विरोध गर्दै बुधबार बन्दको आव्हान गरेको छ । बन्दको आव्हानपछि सरकारले पनि सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

ढाकाको केन्द्रीय जेलका अधिकृत जहांगीर कबीरले निजामीलाई ढाका केन्द्रीय जेलमा मंगलबार राती १२ बजेर १० मिनेट जाँदा फाँसी दिइएको बताए । २० मिनेटभन्दा बढी फाँसीमा झूण्डिरहेपछि एक चिकित्सकले उनलाई मृत घोषित गरिएको थियो ।

फाँसीका क्रममा ढाकाका डिस्ट्रिक मजिस्ट्रेट, जेलका इन्स्पेक्टर जनरल र प्रहरीका प्रमुख अधिकृतहरूको उपस्थिति रहेको थियो ।

निजामीको मृत शरिरलाई राती करिब १ बजेर ३० मिनेटमा जेल बाट बाहिर निकालिएको थियो । उनको आफ्नो पुरानो गाउँ पबनामा अन्तिम संस्कार गरिने बताइएको छ ।

ढाका पुरानो इलाकामा रहेको ढाका केन्द्रिय जेलको चारैतर्फ सुरक्षा व्यवस्था बढाइएको छ । यसका लागि एलीट एन्टी क्राइम र्‍यापिड एक्सट बटालियनलाई समेत तैनाथ गरिएको थियो । जेलको अगाडि रहेको सडकमा पनि सवारी आवातजावत बन्द गरिएको थियो ।

निजामी पाँचौ अपराधी र जमातका चौथो नेता थिए । उनलाई आफ्नो गाउँमा गाउँका मानिसहरूको हत्या गरेको आरोप लगाइएको थियो ।


  •  
  •  
  •