बङ्गलादेश व्यापार मेला राजधानीमा आजदेखि

428
  •  
  •  
  •  

ban-vs-nepalकाठमाडौँ, ७ माघ(ओएनएस) : नेपाल र बङ्गलादेशबीच व्यापार बिस्तार लगानी प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपको प्रदर्शनीस्थलमा दोस्रो बङ्गलादेश व्यापार मेला आज सुरु हुँदैछ ।

काठमाडौंस्थित बङ्गलादेशी दूतावासको आयोजनामा हुने पाँच दिने मेलामा निर्माण सामग्री, तयारी पोसाक, यान्त्रिक उपकरण, हस्तकला तथा छालाका उत्पादन, औषधि एवम् औषधिजन्य उत्पादन, विद्युतीय उपकरण र सूचना प्रविधिसँग सम्बन्धित वस्तु राखिनेछ । सूचना प्रविधि, जलविद्युत्, पर्यटन तथा सेवा क्षेत्रमा लगानीका अवसरको खोजी पनि मेलामा हुने दूतावासले जनाएको छ ।

व्यापार वाणिज्यका साथै द्विपक्षीय सम्बन्धका विविध आयामबारे दुवै देशका प्रतिनिधि सम्मिलित ‘नेपाल–बङ्गलादेश बिजनेस फोरम’को पनि आयोजना हुने भएको छ । भृकुटीमण्डपस्थित हुने मेलाको उद्घाटन वाणिज्यमन्त्री दीपक बोहोराले गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ‘नेपाल–बङ्गलादेश बिजनेस फोरम’ को उद्घाटन गर्नेछन् भने नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्सले अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । फोरममा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र बङ्गलादेशका वाणिज्य सचिव हेडेयतुल्लाह अल मामुन विषेश अतिथिका रूपमा बोलाइएको छ ।


  •  
  •  
  •