यु-१९ विश्वकप क्रिकेटमा बंगलादेश र इङल्याण्डको विजयी सुरुवात

216
  •  
  •  
  •  

काठमाडौँ, १३ माघ(ओएनएस) : यू-१९ विश्वकप क्रिकेटमा बंगलादेश र इङल्याण्डले विजयी सुरुवात गरेका छन् ।

बुधबारबाट सुरू भएको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको छ भने इङल्याण्डले फिजीलाई २ सय ९९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

यु-१९ विश्वकपको उद्घाटन खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन जोडेको थियो । बंगलादेशका लागि नजमुल हसन सान्टोले ७३ रन जोडेका थिए भने जोएरेज शेखले ४६ तथा पिनक घोसले ४१ रन जोडेका थिए ।

२ सय ४१ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ बल बाँकी रहँदै आफ्ना सबै विकेट गुमाएर मात्र १ सय ९७ रन जोड्न सक्यो । दक्षिण अफ्रिकाका लागि लियम स्मिथले शतकीय पारी खेलेपनि उनले पराजयलाई भने टार्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा मेहदी हसन मिराज र मोहम्मद सैफुद्दीनले ३-३ विकेट लिए ।

आज भएको अर्को खेलमा पहिले ब्याटिङ गरेको इङल्याण्डले उत्कृष्ट प्रदर्शन गर्ने ३ सय ७१ रनको विशाल योगफल तयार गरेको थियो । दक्षिण अफ्रिकालाई डन लोरेन्सले १ सय ७४ रन र ज्याक बर्नह्यामले १ सय ४८ रन जोडेका थिए ।

३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको फिजीले मात्र ७२ रन जोड्न सक्यो । फिजीले मात्र २७ ओभर ३ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर ७२ रन जोडेको थियो । फिजीका लागि पेनी भनिवाकाले सर्वाधिक ३६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्स्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । फिजीलाई सस्तैमा समेट्ने क्रममा सकिब महमुद र साम कुरानले समान ३-३ विकेट लिएका थिए ।


  •  
  •  
  •